काठमाडौँ — नेपाल प्रहरी साइबर ब्युरोले सामाजिक सञ्जालमा युवती र महिलाको चरित्र हत्या गर्ने दुई युवकलाई पक्राउ गरेको छ ।
प्रेम सम्बन्ध भएको समयमा खिचिएको तस्बिर तथा भिडियोहरु सम्बन्ध बिग्रिएपश्चात् आफन्त तथा साथीहरुलाई फेसबुक म्यासेन्जरमा पठाएको आरोपमा रामेछाप खाडादेवी गाउँपालिका-८ धुलेबेंसी घर भएर काठमाडौं बस्दै आएका १९ वर्षका श्रीकृष्ण कार्की र महिलासँग सम्बन्धमा रहँदा जानकारी र सहमतिबिना खिचिराखेका अश्लिल भिडियो तथा तस्बिरहरु बहिनीको फेसबुक म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको आरोपमा भोजपुर षडानन्द नगरपालिका-५ घर भई काठमाडौं बस्दै आएका ३१ वर्षका सरोज कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
पुस २८ गते पक्राउ परेका कार्की र २९ गते पक्राउ परेका कटुवाललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गत कसुरमा अनुसन्धान भइरहेको साइबर ब्युरोका प्रवत्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए । पीडित युवती तथा महिलाको उजुरीको आधारमा उनीहरु ब्युरोले उनीहरुलाई पक्राउ गरेको थियो ।
