भूकम्पसम्बन्धी सचेतना फैलाउन नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी

माघ २, २०८१

कान्तिपुर संवाददाता

Nast's 'Earthquake Learning Exhibition' to spread earthquake awareness

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले भूकम्पसम्बन्धी ज्ञान दिन ‘भूकम्प सिकाइ प्रदर्शनी’ आयोजना गरेको छ । हरेक वर्ष माघ २ गते ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ मनाइँदै आइरहेको अवसरमा नास्टले उक्त प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनी नास्टको कार्यालय ललितपुरमा भइरहेको छ । 

१९९० साल माघ २ गतेको गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाइने गरिएको छ ।

प्रदर्शनीमा भूकम्पबारे ज्ञान दिन ८ मोडलहरू छन् । पहिलो मोडलमा भूकम्प, भूकम्पको कारण, प्लेट टेक्टोनिक्स, गोरखा भूकम्प र भूकम्पको विज्ञान रहेको छ । यसैगरी मोडल दुईमा भूकम्पको म्याग्निच्युड र भूकम्पको तीव्रता र मोडल तीनमा भूकम्पको भविष्यवाणी गर्न किन सकिँदैन ? भन्ने विषय प्रदर्शनीमा छ ।

यसैगरी प्रदर्शनीका मोडल चारले भने भूकम्प जानुअघि, जाँदै गर्दा र गइसकेपछि के गर्नुपर्छ र भूकम्पको तयारी गर्ने उपताहरूबारे बताउनेछ ।

मोडल पाँचमा विभिन्न उचाइका भवनहरूमा भूकम्पले गर्ने असर, मोडल ६ मा तरलीकरण र भूकम्प, मोडल सातमा भूकम्पीय ‘पी’ र ‘एस’ तरंग, तरंगको प्रकार र आठमा सिस्मोमिटर, वैज्ञानिकले भूकम्प नाप्ने तरिका प्रदर्शनीमा छ ।

कान्तिपुर

Link copied successfully