काठमाडौँ — होटलको कोठामा मृत फेला परेकी २१ वर्षीया युवती सुस्मिता खड्काको हत्या गरेको आशंका गरिएका युवालाई तीन दिनसम्म पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । अंग्रेजी नयाँ वर्षको दिन काठमाडौं महानगरपालिका-९ मा रहेको वाग्मती होटलको कोठाभित्र युवती मृत फेला परेकी थिइन् ।
अनुसन्धानमा संग्लन एक प्रहरीका अनुसार ओखलढुंगाका एक युवाले कागेश्वर मनोहरा नगरपालिका-२ की युवतीलाई होटलभित्र लिएर गएका थिए । प्रहरीले ती युवा नै हत्यामा संग्लन भएको हुनसक्ने आशंकामा उनको परिचय गोप्य राखेको छ ।
मृत युवती जापनीज भाषाको अध्ययन गर्दै थिइन् भने फरार रहेका युवा मंसिरको अन्तिम सातातिर जापानबाट काठमाडौं आएको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले युवतीको मोबाइल फोनबाट उनीहरुको सम्बन्धबारे थप बुझ्न सकिने अपेक्षा राखेको थियो । तर युवतीले बोक्ने गरेको मोबाइल फोन घटना भएको कोठामा फेला परेन ।
प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा पोस्टमार्टमका लागि पठाइएको बताए ।
