जावलाखेल चिडिखानालाई राति पनि सञ्चालन गर्न अध्ययन गरिने

पुस १४, २०८१

कान्तिपुर संवाददाता

Javalakhel zoo will be studied to operate at night as well

काठमाडौँ — जावलाखेल सदर चिडियाखानालाई राति पनि सञ्चालनमा ल्याउन अध्ययन गरिने भएको छ । रात्रिकालीन गतिविधिलाई बढाउन र चिडियाखानामा आउने आगन्तुकको संख्या बढाउन सो अध्ययन गरिने भएको हो । 

राष्ट्रिय संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २९ वर्ष पूरा गरेको अवसरमा आइतबार आयोजित कार्यक्रममा कोषका अध्यक्ष एंव वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले त्यसका लागि छिटो अध्ययन गरिनुपर्ने बताए । ‘रात्रिकालीन चिडियाखाना सञ्चालनको कुरा छ, यसलाई चाँडो व्यवस्थापन गरी अध्ययनलाई अगाडि बढाएर सम्भावनाका लागि लाग्नुपर्छ,’ उनले भने । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरफबाबु महजर्नले जावलाखेल चिडियाखानालाई रातिको समयमा समेत सञ्चालन गर्न अध्ययनको गरिनुपर्ने विषय उठाएका थिए । सोही क्रममा मन्त्रीले सो अध्ययनको काम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘मैले विदेशतिर पनि रातिको समयमा चिडियाखाना चलेको देखेको छु,’ महानगर प्रमुख महर्जनले भने, ‘त्यसैले जावलाखेल चिडियाखानाको पनि सम्भावना अध्ययन गरौं ।’ रात्रिकालीन चिडियाखाना सञ्चालन गर्न ललितपुर महानगर तयार रहेको समेत उनले विश्वास दिलाए । 

अहिले चिडियाखानाले 'रात्रिचर जीव' लक्षित 'नाइट गाइडेड टुर' को सेवा भने दिँदै आएको छ । अध्ययन अनुसन्धान गर्ने र विद्यार्थीहरूका लागि साँझ परेपछि जीवजन्तु र तीनका आनीबानी नियाल्नका लागि चिडियाखानाले उक्त सेवा उपलब्ध गराउँदै आएको छ । अब भने टिकट काटेरै सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न सक्ने व्यवस्था मिलाउन लागिएको हो । 

कान्तिपुर

Link copied successfully