तीनकुनेको जग्गा सरकारले लुटेर राखिरहेको छ : मेयर शाह

पुस १२, २०८१

कान्तिपुर संवाददाता

The government is looting the land of Tinkune: Mayor Shah

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा कोटेश्वर महोत्सवको उद्घाटन गर्दै तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताएका हुन् । 

मेयर शाहले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुनेसमेत दाबी गरे ।

'यो कार्यक्रमको लागि जग्गा उपलब्ध गराइदिनुभएकोमा जग्गाधनीलाई पनि विशेष धन्यवाद । पचासौँ वर्षदेखि समस्या समाधान भएको छैन, उहाँहरूले मुआब्जा पाउनुभएको छैन । कहिले कुन सरकार हुँदा अपोजिसनले मान्छ कि मान्दैन, मुआब्जा दिन भनिन्थ्यो, कहिले अर्को सरकार हुँदा अरु बहुमत हुनेले मान्छ कि मान्दैन भन्ने हुन्थ्यो । यसपालि बहुमत दुई तिहाईको सरकार छ । तर पनि केही गरेकै छैन । कोही नेता घरमा आश्वासन दिन आउनुभएको छ ?,' मेयर शाहले भने । 

मेयर शाहले उक्त जग्गा सरकारले लुटेर राखेको र प्रक्रिया अघि बढिरहेको कुनै पनि नेताले भनेको खण्डमा नपत्याउन समेत आग्रह गरे ।  'तपाईंहरूको प्रोसेसमा छ, तपाईंहरुको काम हुँदैछ भन्यो भने नपत्याउनु होला । कुनै पनि प्रोसेस भएको छैन । केही काम भएको छैन । अहिलेसम्म यहाँको मुआब्जा दिनलाई सरकारले व्यक्तिको जग्गा एक हिसाबले लुटेर राखेको छ,' उनले भने । 

अहिले दुई तिहाईको सरकारले चाह्यो भने जे पनि गर्न सक्ने मेयर शाहको भनाइ थियो । कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको समेत उनले बताए । 

कान्तिपुर

Link copied successfully