काठमाडौँ — प्रहरीले क्रोएसिया र साइप्रस पठाइदिन्छु भनी १० लाख ३५ हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने यादबहादुर बुर्जामगर र बारा पचरौता नगरपालिका–८ घर भई भिमसेनगोला बस्ने संजय शाह बानियाँ रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये बुर्जामगरले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ७५ हजार रूपैयाँ र बानियाँले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।
उनीरुलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
