काठमाडौँ — काठमाडौं महानगरपालिकाको वडा १० ले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १० करोड ५७ लाख ४५ हजार ८७२ रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।
वडाले चालु आवको साउनदेखि मंसिरसम्म सो रकम आम्दानी गरेको जानकारी दिएको हो । वडाले सोही अवधिमा २ करोड ७ लाख ४४ हजार १७९ रुपैयाँ खर्च गरेको छ ।
ट्रान्परेन्सी इन्टरनेशनलले वडामा आयोजना गरेको, ‘नेपालमा सुशासनको पहल’ विषयमा वडा १० को आयव्ययका बारेमा वडावासीसँग भएको छलफलका क्रममा यो विवरण दिइएको हो । सो अवसरमा वडा अध्यक्ष रामकुमार केसीले चालु आवमा वडासँग १५ करोड रुपैयाँ खर्च गर्न सक्ने सम्भावना रहेको बताए ।
वडा सचिव सुवोध खड्काका अनुसार आयतर्फ सबैभन्दा धेरै घर बहालकरतर्फ ६ करोड ३० लाख ३७ हजार ४४४ रुपैयाँ संकलन भएको छ । त्यसपछि सम्पत्ति करतर्फ २ करोड १६ लाख ४६ हजार ६२६ र व्यवसाय रजिष्ट्रेसन दस्तुर १ करोड ५७ लाख ८९ हजार ९६० रुपैयाँ संकलन भएको उनले जानकारी दिए ।
वडाबाट अहिलेसम्म जात्रा पर्व सञ्चालन, स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन, सामुदायिक विद्यालयको शैक्षिक सुधार, लक्षित वर्गलाई सिपमूलक तालिम, ज्येष्ठ नागरिक लक्षितलगायतक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
