काठमाडौँ — भक्तपुरको बालकोटमा एक घरमा बाबुछोरा मृत भेटिएका छन् । उनीहरूसँगै बस्ने गरेका जेठो छोरा भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीन आचार्यको शव सूर्यविनायक नगरपालिका–२, बालकोट फिकाधारटोलस्थित घरको कोठामा फेला परेको प्रहरीले बताएको छ ।
तीनतले घरको भुइँतलाको कोठामा आचार्यका दुई छोरा ३ वर्षदेखि डेरा गरेर बस्दै आएका थिए । भुइँतलामा रहेका चार कोठामध्ये अन्य दुई कोठामा अरू नै बस्थे । शुक्रबार साँझ बाबुछोराले सँगै खाना खाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेको भनाइ छ ।
‘शनिबार बिहान कोठा बन्द थियो । गाउँबाट पनि आचार्यका परिवारले फोन गरेका रहेछन् । तर सम्पर्क नभएपछि सोमबार बिहान हामीकहाँ खबर आयो,’ उनले भने, ‘सोमबार बिहान हामीले ढोका फोरेर हेर्दा बाबु र कान्छा छोरा मृत अवस्थामा थिए । उनीहरूको शव छुट्टाछुट्टै दुई कोठामा थियो ।’ किचेन बनाइएको कोठामा रहेको खाटमा कान्छा छोराको शव थियो भने बुबाको शव अर्को कोठामा थियो । ‘बाबुछोरा दुवैका कानको तल्लो भागमा चोट छ । कोठमा भेटिएको सिलौटो र डम्बेलमा रौंहरू र रगत लागेको छ,’ न्यौपानेले भने, ‘घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ ।’ सम्पर्कविहीन रहेका जेठा छोरा मिलन आचार्यको खोजी भइरहेको डीएसपी न्यौपानेले जनाए । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको उनले बताए ।
आचार्य परिवार खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थायी बासिन्दा हुन् । मृतक कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख (नासु) थिए । उनका जेठा छोरा मिलन लोकसेवाको तयारी गर्दै थिए भने कान्छा छोरा प्रवीन बीएससी अध्ययनरत थिए । मृतकहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
