काठमाडौँ — नेपाल स्वयंसेवी रक्तदाता समाजले निःशुल्क रगत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसमक्ष मंगलबार ज्ञापनपत्र बुझाउँदै समाजले नि:शुल्क रगत उपलब्ध गराउन माग गरेको हो । समाजले निःशुल्क रगत र रक्त–तत्वहरूका लागि उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएको अध्यक्ष तथा स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले जानकारी दिए ।
'राज्यद्वारा मानव रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूलाई निःशुल्क उपलब्ध/वितरण गराउने/गर्ने नीति लिए तापनि हालसम्म परीक्षण शुल्कको रुपमा अनावश्यक बढी रकम असूली रहेको विद्यमान परिस्थितिले विपन्न वर्गका बिरामीहरुलाई ठूलो आर्थिक भार आइरहेको छ,' विज्ञप्तिमा लेखिएको छ, 'यस समाजले त्यस्तो परिस्थितिलाई न्यूनीकरण गर्न स्थानीयहरुको सहभागिता र स्थानीय सरकारबीच समन्वय गर्दै निःशुल्क रगत वितरणको कार्यको पनि थालनी गर्ने पहल लिइरहेको छ ।'
साथै बर्सेनि मनाउँदै आइरहेको राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस माघ १५ लाई घोषणा गर्न माग गरिएको छ । ज्ञापन बुझाउने क्रममा कोषाध्यक्ष प्रमिला लामा एवं केन्द्रीय सदस्यहरु सुशील घर्ती क्षेत्री र बिमल भित्राकोटी पनि उपस्थित थिए ।
