बालकोट घटना : बुवा र भाइको हत्या गरेको भन्दै आफैं प्रहरी वृत्तमा उपस्थित

पुस ९, २०८१

कान्तिपुर संवाददाता

Balkot incident: Presented himself in the police circle for killing his father and brother

काठमाडौँ — बालकोट घटनापछि फरार रहेका मिलन आचार्य आफैं प्रहरी कार्यालयमा उपस्थित भएका छन् । मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा उनी उपस्थित भएका हुन् ।  प्रहरी स्रोतका अनुसार आफैंले बुवा र भाइको हत्या गरेको भनेर उनले स्वीकार गरेका छन्  ।

५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीन आचार्यको शव सूर्यविनायक नगरपालिका-२, बालकोट फिकाधारटोलस्थित घरको कोठामा सोमबार फेला परेको  थियो ।

'सोमबार बिहान हामीले ढोका फोरेर हेर्दा बाबु र कान्छा छोरा मृत अवस्थामा थिए । उनीहरूको शव छुट्टाछुट्टै दुई कोठामा थियो ,’  जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले भने ।

किचेन बनाइएको कोठामा रहेको खाटमा कान्छा छोराको शव थियो भने बुबाको शव अर्को कोठामा थियो । बाबुछोरा दुवैका कानको तल्लो भागमा चोट छ । कोठामा भेटिएको सिलौटो र डम्बेलमा रौं र रगत भेटिएको पनि प्रहरीले जनाएको छ ।  तीनतले घरको भुइँतलाको कोठामा आचार्यका दुई छोरा ३ वर्षदेखि डेरा गरेर बस्दै आएका थिए । 

आचार्य परिवार खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्थायी बासिन्दा हुन् । मृतक कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख (नासु) थिए । उनका जेठा छोरा मिलन लोकसेवाको तयारी गर्दै थिए भने कान्छा छोरा प्रवीन बीएससी अध्ययनरत थिए ।

कान्तिपुर

Link copied successfully