एनपीएल सट्टेबाजी गर्ने दुई भारतीय पक्राउ

पुस ७, २०८१

कान्तिपुर संवाददाता

Two Indians arrested for NPL betting

काठमाडौँ — जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल प्रिमियर लिगको फाइनल खेललाई आधार बनाएर अनलाइन सट्टेबाजी सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरू भारत उत्तर प्रदेश जिल्ला आग्रा सिकान्द्रा पञ्चायत घर भई हाल टोखामा बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन् । आइतबार उनीहरु बस्दै आएको ठाउँमा नै पुगेर नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूलाई अनलाइन सट्टेबाजीको सञ्चालन गर्न प्रयोग गरेका उपकरणसहित पक्राउ गरिएको छ । उनीहरुबाट  पाँच वटा मोबाइल, एउटा ल्यापटप, आठ वटा एनसेलको सिमकार्डसहित जावाको भारतीय राहदानी र आधार कार्ड, माकनको आधार कार्ड र मतदान कार्ड प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा ल्याएर थप अनुसन्धान सुरु गरेको छ । नेपाल प्रिमियर लिग शनिबार सम्पन्न भएको थियो ।

कान्तिपुर

Link copied successfully