सीडब्ल्युएनद्वारा सामाजिक न्याय पुरस्कार घोषणा

पुस ७, २०८१

कान्तिपुर संवाददाता

Social Justice Awards announced by CWN

काठमाडौँ — कास्ट वाच नेटवर्क (सीडब्ल्युएन) ले सामाजिक न्याय पुरस्कार घोषणा गरेको छ । शनिबार संस्थाको पहिलो वार्षिकोत्सवका सन्दर्भमा सीडब्ल्युएनले आगामी वर्षबाट वितरण गर्ने गरी ५० हजार रुपैयाँ राशिको सामाजिक न्याय पुरस्कार घोषणा गरेको हो ।

दलित समुदायको संघर्ष, अन्याय र न्यायका क्षेत्रमा योगदान पुर्‍याउने एक जना लेखकलाई पुरस्कृत गर्ने गरी पुरस्कार स्थापना गरिएको सीडब्ल्युएनका अध्यक्ष मित्र परियारले जानकारी दिए । 

उनका अनुसार दलित समुदायमाथि भइरहेको अन्याय, संघर्ष र कठिनाइहरूका सन्दर्भमा कुनै पनि साहित्य, लेख रचना वा पुस्तकका लेखकहरूमध्येबाट हरेक वर्ष एक जनालाई उक्त पुरस्कार प्रदान गरिनेछ ।

उनले मुलुकको बद्लिँदो राजनीतिक परिस्थितिका बीच दलित समुदायको मुक्ति र न्याय पाउने स्थिति नरहेको भन्दै अब अलग्गै दलित संघर्ष आवश्यक रहेको बताए । त्यसका लागि समेत दलित साहित्य र लेखनीलाई जोड दिनुपर्ने उनको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully