काठमाडौँ — दुई घण्टापछि घापासीको आगो नियन्त्रणमा आएको छ। काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित साढे तीन तले घरमा बिहीबार साँझ आगलागी भएको थियो । घटनास्थल पुगेकी टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनालका अनुसार भाइकाजी श्रेष्ठको पक्की घरमा आगलागी भएको हो ।
ग्यासको आगो तापेर ग्यास निभाएको केहीबेरमा बिजुलीको स्वीच अन गर्दा आगलागी भएको भन्ने जानकारी आफूलाई प्राप्त भएको उनले सुनाइन् । खनालले भनिन्, 'कम्पाउन्डभित्रको घर भएकाले आगो अन्यत्र फैलिन पाएन ।'
काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार अहिले पूर्ण रुपमा आगो नियन्त्रणमा आएको र घटनाको थप अनुसन्धान भैरहेको छ । साँझ साढे ५ बजेतिरबाट आगलागी सुरु भएको अनुमान छ ।
आगलागीबाट मानविय क्षति भने भएको छैन । दमकलसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको हो ।
