काठमाडौँ — काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित एक घरमा बिहीबार साँझ आगलागी भएको छ । घटनास्थलमा रहेकी टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनालका अनुसार भाइकाजी श्रेष्ठको पक्की घरमा आगलागी भएको हो ।
'ग्यासको आगो तापेर ग्यास निभाएको केहीबेरमा बिजुलीको स्वीच अन गर्दा आगलागी भएको भन्ने जानकारी प्राप्त भएको छ,' खनालले भनिन्, 'कम्पाउन्डभित्रको घर भएकाले आगो अन्यत्र फैलिन पाएन।'
आगो निभाउन दमकल प्रयोग गरिए पनि यो समाचार तयार पार्दासम्म पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । आगलागीको तीव्रता केही कम हुँदै गएको काठमाडौँ प्रहरी परिसरका सूचना अधिकारी, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । साँझ साढे ५ बजेतिरबाट आगलागी सुरु भएको अनुमान छ ।
