भ्वाङ परेको कमलादी सडकखण्ड आजबाट सञ्चालनमा 

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

The damaged Kamaladi road section is operational from today

काठमाडौँ — काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण सम्पन्न भएपछि आजबाट उक्त खण्डमा सवारीसाधन गुड्न थालेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कल्भर्टको उद्घाटन गरेका हुन् । 

व्यस्त र जरुरी महत्त्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ उक्त स्थानमा काम गराएको सडक विभागका महानिर्देशक रामहरी पोखरेलले बताए । 

सडक डिभिजन कार्यालय काठमाडौंले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डिजी प्रकाश कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेक्का लगत्तै अविरल वर्षा,चाडबाड  र बाढीले काममा बाधा पुगेको थियो । काठमाडौं डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंसिर १७ गते सम्पन्न गर्ने गरि कात्तिक २ गतेबाट काम सुरु भएको थियो ।

राणकालमा निर्मित उक्त कलभर्ट पुरातात्त्विक महत्त्वको हुन सक्ने भन्दै पुरातत्त्व विभागले समेत चासो देखाएको थियो । जसका कारण विभागसँग सहमति लिनु पर्ने प्रक्रियाले पनि निर्माण कार्यमा केही ढिलाई भएको थियो । तर कातिक १ गते पुरातत्त्व विभागले समेत कल्भर्ट निर्माणमा सहमति दिए पछि निर्माणले गति लिएको थियो । निर्माण थालेको ४६ दिनमा काम सकिएको डिभिजन प्रमुख भण्डारीले बताए । 

 गत साउन २५ मा कमलादीमा अविरल वर्षासँगै सडकमा भ्वाङ परेको थियो । त्यसपछि उक्त खण्डमा सवारी आवागमन ठप्प बनेको थियो । 

कान्तिपुर

Link copied successfully