ललितपुर — ललितपुर महानगरपालिकाले व्यापारिक रुट लगनखेल–मंगलबजार, पुल्चोक–ग्वार्कोमा पार्किङ निषेध गरेको भन्दै पाटनका व्यवसायी विरोधमा उत्रिएका छन् । ललितपुर उद्योग वाणिज्य संघले उक्त रुटमा विगतदेखि नै पालिकासँग समन्वय गरेर फुटपाथ, सरसफाइ तथा ट्राफिक व्यवस्थापनमा संयोजनको भूमिका खेल्दै आइरहेको महानगरपालिकाले संघसँग छलफलबिनै एकतर्फी रूपमा पार्किङ निषेध गरेको भन्दै व्यवसायी विरोधमा उत्रिएका हुन् ।
दीर्घकालीन सोचबिना गरिएको पार्किङ निषेधले व्यापारिक क्षेत्र मात्र खलबलिएको छैन, सर्वसाधारण र घरधनीलाई समेत असर परेको संघले जनाएको छ ।
व्यवसायीले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई नौबुँदे सुझाव सम्मिलित ज्ञापनपत्रसमेत बुझाएको छ । ‘मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रूपमा रहेको निजी क्षेत्रले ललितपुर महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यअनुरूप राजस्व संकलनमा ८१.७५ योगदान पुर्याएको छ ।
मेयर महर्जनले पार्किङसम्बन्धी समस्या हल गर्ने आश्वासन दिए तापनि थप छलफलमा कुनै चासो दिनुभएको छैन । चाँडै सुझाव कार्यान्वयन नगरेमा पहिलो चरणको आन्दोलनस्वरूप सबै व्यवसायी मिलेर आफ्ना पसलका सटर बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले भने उक्त क्षेत्रमा पार्किङ गरेर पसलमा सामान किन्ने मात्र नभई घण्टौं रोक्ने गरिएकाले सडक जाम हुने गरेको बताए । ‘केही समयका लागि मोटरसाइकल रोकेर किनमेल गर्ने भए ठीकै थियो । तर घण्टौं रोक्दा समस्या भएकाले पार्किङ निषेध गरिएको हो,’ उनले भने ।
