काठमाडौँ — नागढुङ्गा चेकप्वाइन्टबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित एक युवालाई पक्राउ गरेको छ । बिहीबार काँकडभिट्टाबाट काठमाडौं आउादै गरेको बा.प्र. ०१ ००६ ख ५९४५ नम्बरको यात्रुवाहक बसलाई रोकी चेक गर्दा बसमा सवार २२ वर्षीय आकाश लाम्बुको झोलाबाट ट्रामाडोल फेला पारेको हो ।
उनको कालो रंगको झोलामा लागूऔषध ट्रामाडोल ५० पत्ता (जम्मा ५०० ट्याब्लेट) रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।
ताप्लेजुङ घर भई हाल काठमाडौंको शंकरापुर नगरपालिका, वडा नम्बर–७ मा उनी बस्दै आएका थिए । पक्राउ परेका लाम्बुबारे प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।
