वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

भाद्र १३, २०८१

कान्तिपुर संवाददाता

Three people who cheated by saying that they will be sent to foreign employment were arrested

काठमाडौँ — आकर्षक तलब सुविधासहितको वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले क्रोएसिया, दुबई लगायतका देशहरूमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई काठमाडौं माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ घर भई काठमाडौं रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली कमलामाई नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २५ वर्षीय गणेश बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये शशीले १ जना पीडितबाट ३ लाख ६५ हजार रूपैयाँ, रोशनीले १ जना पीडितबाट १ लाख २ हजार रूपैयाँ र गणेशले १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरी परेको प्रहरीले जनाएको छ । 

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शशीलाई काठमाडौं सितापाइलाबाट, रोशनीलाई काठमाडौं सरकारी धाराबाट र गणेशलाई ललितपुर झम्सीखेलबाट पक्राउ गरेको हो ।   

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully