बालकुमारी घटनापछि ललितपुर जिल्ला प्रशासन र प्रहरी निमित्तको भरमा

पुस २०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान तयारी गरिरहेका २ जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटना प्रकरणमा ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रप्रसाद पण्डित र जिल्ला प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाह क्रमशः गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय फिर्ता भइसकेका छन् ।

दुइजनाको ज्यान जाने गरी भएको उक्त घटनापछि जिल्लाको शान्तिसुरक्षा र अपरध अनुसन्धान तथा नियन्त्रणलाई झनै प्रभावकारी बनाउनु पर्नेमा प्रजिअ र एसएसपी प्रमुख रहने कार्यालय नै एकसाता देखि नेतृत्वबिहीन बनेका छन् ।

पण्डित र शाह फिर्ता बोलाइएपछि प्रजिअ र एसएसपी ‘आफ्नो स्वार्थ अनुसार’ पठाउन सत्तारुढ दलका शीर्ष नेताबाटै लबिङ भइरहेको स्रोत बताउँछ ।

घटनाको १ साता बित्नै लाग्दासमेत गृह मन्त्रालयले प्रजिअ र एसएसपी प्रमुख रहने दुवै निकायमा कसैलाई पनि जिम्मेवारी दिएको छैन ।

पानीजहाजसम्बन्धी कामका लागि गत साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक माग गरिएको ‘उत्पादनमूलक’ क्षेत्रमा खुला गरिएको आवेदनबाट वञ्चित गराइएपछि ग्वार्को–बालकुमारी सडक अवरुद्ध पारेर प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले ‘घातक बल प्रयोग’ गर्दा शुक्रबार दैलेखको महाबु–६ का २३ वर्षीय रावत र अछाम चौरपाटी–१ का शाहको ज्यान गएको थियो ।

घटनापछि प्रहरी प्रमुख र प्रजिअ फिर्ता बोलाइएपछि दुवै कार्यालय निमित्तको भरमा छन् । सहायक प्रजिअ अमरदीप सुनुवार र जिल्ला प्रहरीका एसपी नवराज कार्कीलाई निमित्त तोकिएको छ । गत पुस १३ मा वैदेशिक रोजगारीमा जान कोरिया भाषा परीक्षाको तयारी गरिरहेका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाह प्रदर्शनका क्रममा प्रहरीको गोली प्रहार र बल प्रयोगबाट मारिएका थिए । प्रदर्शनकै बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला झण्डावाला गाडीसहित प्रदर्शन भइरहेको ठाउँमा पुगेका थिए ।

त्यस क्रममा गाडीबाट उत्रिएर मन्त्री ज्वाला प्रदर्शनकारीसँग भनाभन नै भएको थियो । त्यही क्रममा अंगरक्षकले मन्त्री ज्वालालाई सुरक्षित स्थानमा लगेपछि भिडले मन्त्रीको गाडीमा आगजनी गरेको थियो । त्यही क्रममा प्रदर्शनकारी मध्येका रावत र शाह प्रहरीकमो गोली प्रहार र कुटाइबाट घाइते भएका थिए । दुवैजनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यसको भोलिपल्ट १४ गते गृह मन्त्रालयले प्रजिअ पण्डित र ललितपुर प्रहरी प्रमुख शाहलाई फिर्ता बोलाएको थियो भने इपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदी, फिल्डमा खटिएका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका बडीगार्ड प्रहरीका असई बोधराज दनुवार निलम्बनमा परेका थिए ।

एसएसपी शाह तानिएपछि प्रहरी प्रधान कार्यालयले सीआईबीमा कार्यरत एसएसपी दिनेश आचार्यलाई ललितपुर पठाउन प्रस्ताव गरेको छ । गृह मन्त्रालयका अधिकारीहरुले एसएसपी शेखर खनाललाई पठाउन चाहेको स्रोत बताउँछ । तर, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सत्तारुढ दलका नेताहरुको रुचिमा अरु नै परेपछि निर्णय हुन ढिलाइ भएको छ । प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच कसलाई पठाउने भन्नेमा फरक फरक नाम सिफारिस भएको छ । घटनापछि परिस्थिति साम्य पार्न मृतकका परिवारलाई १० लाख रुपैया र मृतकका परिवारका एक सदस्यलाई रोजगारीसहित राहत प्याकेज घोषणा र दोषीमाथी कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाइसकेको छ ।

‘प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयबीच फरक-फरक व्यक्तिका नाम आएपछि निर्णय हुन नसकेको हो,’ स्रोतले भन्यो । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उपयुक्त र योग्य अधिकृतलाई पठाउने विषयमा आन्तरिक परामर्श भइरहेकोले ललितपुर प्रहरी प्रमुख र प्रजिअ पठाउने निर्णय लिन ढिलाई भएको बताए ।

पछिल्लो घटनापछि उत्पन्न चुनौती र समग्र शान्तिसुरक्षा व्यवस्थापन गर्न सक्ने काबिल प्रहरी अधिकृत र गृह प्रशासन बुझेका प्रशासक पठाउनु पर्नेमा दलको सिफारिस र भनसुनबाट निर्णय लिने प्रवृत्तिले भोलीका दिनमा पनि यस्ता अप्रिय घटना हुने जोखिम रहन्छ ।

बालकुमारी घटनापछि आन्तरिक छानबिन गर्न डीआइजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको थियो । त्यस्तै सोही घटनाको सत्यतथ्य जाँचबुझ गर्न पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरिसकेको छ । दुवै संयन्त्रले घटनाको छानबिन र जाँचबुझको काम गरिरहेका छन् । तर, ललितपुर प्रहरी र जिल्ला प्रशासन भने अझै नेतृत्वविहीन अवस्थामा राखिएको हो ।

बालकुमारी घटना

कान्तिपुर

Link copied successfully