बझाङ/बाजुरा — सम्झौताअनुसार काम भएको भए बाजुरा साँफे–मार्तडी सडक खण्डको गुइगाढमा ४ वर्षअघि नै पुल बनिसक्ने थियो । तर, ठेकेदारले काम गरेनन् ।
सम्झौताअनुसार काम भएको भए बाजुरा साँफे–मार्तडी सडक खण्डको गुइगाढमा ४ वर्षअघि नै पुल बनिसक्ने थियो । तर, ठेकेदारले काम गरेनन् ।
सम्झौताको अवधि सकिएयता ४ वर्षदेखि लगातार म्याद भने थपे । उच्च राजनीतिक पहुँच बनाएका निर्माण व्यवसायीले बाजुरा, बझाङलगायत दुर्गम क्षेत्रका विकास निर्माण ओगटेर वर्षौंसम्म अलपत्र पारिरहेका छन् ।
बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडकको गुइगाढमा पुल निर्माणका लागि सडक विभागसँग राजेन्द्र निर्माण सेवाले २०६८ मै सम्झौता गरेको थियो । ०७० साउन मसान्तभित्र काम पूरा गरिसक्ने सर्त भए पनि ०७४ साउन बित्दासमेत काम पूरा गरेको छैन ।
सदरमुकामदेखि करिब २४ किलोमिटरको दूरीमा पर्ने गुइगाडमा पुल नहुँदा वर्षाको समयमा यातायात सेवा अवरुद्ध हुँदै आएको छ । ‘वर्षामा निकै जोखिम मोलेर गुइगाड आवतजावत गर्नुपरेको छ । वर्षा बढी भएको दिन सवारी साधन रोकिन्छन्’, यातायात व्यवसायी शेरबहादुर रावतले भने । निर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद भने स्थानीय निर्वाचनमा डडेल्धुराको परशुराम नगरपालिकामा प्रमुख बनेका छन् ।
पहुँचवाला ठेकेदारहरूले विकट क्षेत्रतिर ठेक्का ओगटेर वर्षौंसम्म काम सम्पन्न नगर्ने प्रवृति प्राय: सबैतिर एकैनासको देखिएको छ ।
ठेक्का स्वीकृत भएको ७ वर्ष बितिसक्दा पनि बझाङको उत्तरी क्षेत्रलाई यातायात सञ्जालमा जोड्ने पक्की निमार्णको काम अझै सुरु भएको छैन ।
तल्कोट गाउँपालिकाको देवसैनमा सेती नदीमा निर्माण हुनुपर्ने उक्त पुलको ठेक्का २०६८ सालमा स्वीकृत भएको थियो । निर्माणको जिम्मा याक्थुहाङ निर्माण सेवा प्रालिले लिएको हो । कम्पनी याक्थुहाङका प्रमुख तेजकुमार कुरुमबाङ निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष हुन् ।
पुल नभएका कारण गाउँलेले चन्दा उठाएर बनाएको सडकसमेत प्रयोगमा आउन नपाएको उनीहरू बताउँछन् । ‘गाडीको सुविधा होला भनेर घरघरबाट पैसा उठाएर सडक बनायौं,’ रिलुका धनबहादुर बोहराले भने, ‘सबै गाउँमा बाटो पुगे पनि पुल नभएका कारण गाडी चल्न सकेको छैन । हामीले खाइनखाई पैसा उठाएको कामै भएन ।’
कुरुमबाङ भने पुरानै कबोल लागतमा पुल निर्माणको काम गर्न नसक्ने बताउँछन् । उनले भने, ‘राष्ट्र बैंकले निकाल्ने बजार मूल्य वृद्धिको सूचकअनुसार लागतमा वृद्धि नगरे पुल सकिँदैन ।’ पुल निर्माणका लागि आवश्यक पर्ने मेसिन लैजानका लागि फराकिलो बाटो नभएका कारण निर्माण सुरु गर्न नसकेको उनले बताए । तर सडक नभएका कारण पुल बनाउन नसकेको भन्नु ठेकेदारको बहाना मात्र भएको तल्कोट गाउँपालिकाका अध्यक्ष लालबहादुर विष्टले बताए ।
करिब १२ करोडको लागतमा निर्माण हुने सो पुलको काम सुरु गर्नका लागि ठेकेदारले सात वर्षअघि १ करोड रुपैयाँ पेस्की पनि लिइसकेको तर काम गर्न आलटाल गर्दै आएको पुल निर्माण चैनपुर ताक्लाकोट सडक आयोजना कार्यालयले जनाएको छ । आयोजना कार्यालयका एक कर्मचारीले भने, ‘पहिले सडक छैन भन्यो, अहिले लागत बढाउनुपर्छ भनेर रोकिराखेको छ ।’
पहुँचवाला ठेकेदार यस्तै हुन् । विभागले प्रत्येक वर्ष म्याद थपेकै छ ।’ यता डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालले हचुवाका भरमा टेन्डर लगाउने र पछि विभिन्न बहानामा काम नगर्ने ठेकेदारको प्रवृत्तिका कारण पुल निर्माणमा ढिलाइ भएको बताए ।
