नबिल बैंकलाई तीन अवार्ड

अवार्डले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै नेपालका साना तथा मझौला उद्यमहरूलाई सहयोग गर्न पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर गरेको बैंकले जनाएको छ ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Three Awards for Nabil Bank

काठमाडौँ — नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ ।

बैंक युरोमनी अवार्ड्स फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमइजको उपाधिबाट सम्मानित भएको हो ।

यसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यी प्रतिष्ठित अवार्डले नबिल बैंकको बलियो वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास र वातावरणीय, सामाजिक तथा सुशासनका प्राथमिकतालाई अगाडि बढाउँदै नेपालका साना तथा मझौला उद्यमहरूलाई सहयोग गर्न पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर गरेको बैंकले जनाएको छ ।

प्रतिष्ठित अवार्डबाट बैंक सम्मानित हुन पाउँदा खुसी लागेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले बताए ।

‘युरोमनीबाट प्राप्त यी प्रतिष्ठित सम्मानहरूले हामीलाई अत्यन्त गौरवान्वित बनाएको छ । नेपाल्स बेस्ट बैंक फर ईएसजी तथा एसएमइज जस्ता उपाधि प्राप्त गर्नु भनेको ग्राहक, कर्मचारी, सेयरधनी तथा साझेदारहरूले नबिल बैंकमाथि राख्नुभएको विश्वासको परिणाम हो ।यी सम्मानले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रति प्रतिबद्धतालाई थप बलियो बनाएका छन्,’ उनले भने, ‘हामी आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहनेछौं ।’

कान्तिपुर

Link copied successfully