भक्तपुरस्थित शोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन शोरुम तथा सर्भिस सेन्टरमध्ये एक रहेको कम्पनीले दाबी
काठमाडौँ — प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले भक्तपुरमा नयाँ शोरुम तथा सर्भिस सञ्जाल विस्तार गरेको छ । कम्पनीका अनुसार भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याउनुका साथै आगामी सातादेखि वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा पनि नयाँ आधिकारिक शोरुम सञ्चालनमा आउँदै छ ।
मंगलबार औपचारिक रूपमा सेवा शुभारम्भ गरिएको भक्तपुरस्थित शोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन शोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ ।
नेपालमा ग्राहक–केन्द्रित अग्रणी विद्युतीय सवारी (ईभी) ब्रान्डका रूपमा योगदान पुर्याउने लक्ष्यसहित कम्पनीले शोरुम तथा सर्भिस नेटवर्क विस्तार अभियान अघि बढाएको जनाएको छ । प्रोटोनप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभर उत्पादन र सेवाको सहज पहुँच पुर्याउने उद्देश्यले सेवा सञ्जाल विस्तार गरिएको कम्पनीको भनाइ छ ।
यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढीबाट बिक्री तथा सर्भिस सेवा प्रदान गर्दै आएको थियो । भक्तपुर शाखा सञ्चालनमा आएपछि तथा वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा नयाँ शोरुम खुलेपछि ग्राहकले देशभरका शाखाबाट प्रोटोनका सवारी साधन खरिद तथा मर्मतसम्भार सेवा सहज रूपमा लिन सक्ने कम्पनीले जनाएको छ ।
जगदम्बा मोटर्सले सन् २०१८ देखि नेपालमा प्रोटोन ब्रान्डका सवारी साधनको आधिकारिक वितरण गर्दै आएको छ । मलेसियाको राष्ट्रिय सवारीसाधन ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको रणनीतिक साझेदारीमार्फत अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्दै आएको छ ।
