धुनिवेशीमा युनाइटेड सिमेन्ट्सको स्वास्थ्य शिविर

शिविरबाट १४३ जना स्थानीयले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन् ।

असार ३०, २०८३

कान्तिपुर संवाददाता

United Cements health camp in Dhuniveshi

काठमाडौँ — युनाइटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–९ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरबाट १४३ जना स्थानीयले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन् ।

कम्पनीका अनुसार ललितपुरस्थित मेघा अस्पतालका सात सदस्यीय स्वास्थ्य टोलीले शिविरमा सेवा दिएको थियो । टोलीमा जनरल फिजिसियन डा. जमाल अश्रफ, बालरोग विशेषज्ञ डा. दीपा खनाल र दन्तरोग विशेषज्ञ डा. संगीता कुमारी सहभागी थिए । स्वास्थ्य टोलीको नेतृत्व अस्पतालकी संयोजक शिल्पा पोखरेलले गरेकी थिइन् ।

शिविरमा ७ वर्षदेखि ८५ वर्षसम्मका स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । अधिकांश सेवाग्राही धुनीवेशी–९ का बासिन्दा थिए भने पुरुषको तुलनामा महिलाको सहभागिता बढी रहेको कम्पनीले जनाएको छ । स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

चिकित्सकहरूका अनुसार परीक्षणका क्रममा धेरै सेवाग्राहीमा ढाड, कम्मर र घुँडासम्बन्धी समस्या देखिएको थियो । स्थानीयले नियमित स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्ति पनि देखिएको उनीहरूको भनाइ छ । शिविरमा सहभागी स्थानीयले यस्ता स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

कान्तिपुर

Link copied successfully