विगत चार दशकमा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठूलो परिवर्तन भएको चर्चा गर्दै नबिल बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको, बरु सधैं त्यसको नेतृत्व गरेको दाबी गरे ।
काठमाडौँ — नबिल बैंक लिमिटेडले स्थापनाको ४२औं वर्ष पूरा गरेको छ । स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले आफ्नो ४२औं वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैंकले यस ऐतिहासिक घडीमा ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यका साथ ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको हो ।
वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले बैंकको विगत, वर्तमान र भविष्यको मार्गचित्र स्पष्ट पारे । विगत चार दशकमा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठूलो परिवर्तन भएको चर्चा गर्दै नबिल बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको, बरु सधैं त्यसको नेतृत्व गरेको दाबी गरे ।
‘हामीले आधुनिक बैंकिङको जग बसाल्यौं । ‘एन बैंक’ एपमार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा आफूलाई स्थापित गर्दै ग्राहकको बैंकिङ अनुभवलाई पूर्ण रूपमा बदल्यौं,’ अध्यक्ष चौधरीले भने, ‘नेपालकै पहिलो निजी वाणिज्य बैंक स्थापना गर्दै हामीले उद्योग र लगानीकर्ताका लागि नयाँ ढोका खोल्यौं । आज नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गरिरहेको छ ।’
अध्यक्ष चौधरीले बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युग अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को युगमा बैंक प्रवेश गरेको घोषणा गरे । एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनःपरिभाषित गरिरहेको उनले बताए ।
एन बैंकको विकासमा एआईलाई केन्द्रबिन्दुमा राखिने र यसले बैंकिङ सेवालाई अझ स्मार्ट र व्यक्तिगत बनाउने अध्यक्ष चौधरीको दाबी छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले सन् १९८४ मा नेपालकै पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको यो यात्रा आज लाखौं ग्राहकको अटुट विश्वास र हजारौं कर्मचारीको निष्ठाका कारण यो उचाइसम्म आइपुगेको बताए ।
‘यस ऐतिहासिक उपलब्धिको उत्सव मनाउँदै गर्दा, हामी हाम्रा ग्राहकहरू र राष्ट्रका लागि दिगो मूल्य सिर्जना गर्न थप आत्मविश्वास, नवीनता र प्रतिबद्धताका साथ भविष्यतर्फ हेरिरहेका छौं,’ उनले भने, ‘हामी केवल बैंकिङ सेवा दिने संस्था होइनौं, हामी तपाईंका सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार हौं ।’
ग्राहकहरूको बदलिँदो बैंकिङ अपेक्षा र दिगो विकासको आवश्यकतालाई ध्यानमा राख्दै बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बन्ने दृढ संकल्प लिएको विज्ञप्तिमा उल्लेख छ ।
