चन्द्रागिरिमा आयोजित कार्यक्रममा चन्द्रप्रसाद ढकालले नेपाल–यूएई सम्बन्धलाई अब श्रम र विप्रेषणमा मात्र सीमित नराखी व्यापार, लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा संयुक्त लगानीतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन् ।
नेपालमा लगानीका लागि उपयुक्त समय भएको उनको भनाइ छ ।
यूएईका विदेश व्यापारमन्त्री थानी अहमद अल जेयौदी नेतृत्वको सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा आयोजित कार्यक्रममा ढकालले नेपाल–यूएई सम्बन्धलाई अब श्रम र विप्रेषणमा मात्र सीमित नराखी व्यापार, लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा संयुक्त लगानीतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
पाँच दशकको अवधिमा यूएईले व्यापार, लगानी, वित्त, पर्यटन, नवप्रवर्तन तथा प्रविधिका क्षेत्रमा हासिल गरेको उल्लेखनीय उपलब्धि दूरदर्शी नेतृत्व, खुला आर्थिक नीति तथा लगानीमैत्री वातावरणको परिणाम भएको उल्लेख गर्दै ढकालले त्यसबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए ।
आगामी सन् २०२७ मा नेपाल–यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने उल्लेख गर्दै ढकालले यो ऐतिहासिक अवसरलाई दुई देशबीचको आर्थिक साझेदारीलाई थप उचाइमा पुर्याउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे ।
नेपाल र यूएईबीच द्विपक्षीय लगानी सम्झौता (बीआईए), दोहोरो कर मुक्ति सम्झौता (डीटीएए) तथा व्यापक आर्थिक साझेदारी सम्झौता (सीईपीए) सम्बन्धी छलफल सकारात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै ती सम्झौता निकट भविष्यमा निष्कर्षमा पुग्ने उनको विश्वास छ ।
नेपालमा जलविद्युत्, पर्यटन, डिजिटल भुक्तानी, वित्तीय प्रविधि तथा सहरी पूर्वाधार, कृषि, उत्पादनमूलक उद्योग, औद्योगिक विकास तथा आपूर्ति शृंखलासम्बन्धी सेवाका क्षेत्रमा उल्लेखनीय लगानीका अवसर रहेको ढकालले उल्लेख गरे ।
यूएईको प्रविधि, अनुभव र लगानी क्षमताले नेपालका विकास प्राथमिकतासँग उत्कृष्ट रूपमा मेल खाने उनको भनाइ छ ।
आईएमई ग्रुपले बैंकिङ, विप्रेषण तथा डिजिटल भुक्तानी सेवामार्फत यूएईका विभिन्न वित्तीय संस्थासँग लामो समयदेखि सहकार्य गर्दै आएको ढकालले जनाए ।
आगामी चरणमा पर्यटन पूर्वाधार, केबलकार, स्तरीय पर्यटकीय पूर्वाधार, जलविद्युत् तथा एकीकृत मनोरञ्जन पूर्वाधारमा समेत संयुक्त लगानी विस्तार गर्न सकिने उनले बताए ।
