नेपाल र भारतका स्टार्टअपलाई सशक्त बनाउन इन–स्पान सेन्टरले इन्क्युबेशन केन्द्र, मासिक तालिम, हेल्पलाइन र दुई वर्षे सम्मेलन गर्ने घोषणा गरेको छ ।
What you should know
काठमाडौँ — नेपाल र भारतबीच स्टार्टअप तथा उद्यमशीलताको विकास गर्ने उद्देश्यले स्थापना भएको 'इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (इन-स्पान) सेन्टर अफ एक्सिलेन्स'ले आफ्नो संस्थागत संरचनालाई औपचारिकता दिएको छ । बिहीबार सेन्टरको पहिलो बोर्ड बैठकले यसअघिको तदर्थ समितिलाई विघटन गर्दै नौ सदस्यीय कार्यकारी बोर्ड गठन गरेको हो ।
सन् २०२६ देखि २०२९ सम्मको तीन वर्षे कार्यकालका लागि गठित बोर्डको अध्यक्षमा आसिम श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा प्रवीण भट्टराई, महासचिवमा श्रेयान्च श्रेष्ठ, सह-महासचिवमा ऋतिकबाबु श्रेष्ठ र कोषाध्यक्षमा प्रदीप गिरी चयन भएका छन् । कार्यकारी सदस्यमा मोहन तामाङ, विष्णुकुमार अग्रवाल, निकेश सिंह र सुनील केसी छन् ।
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की), काठमाडौंस्थित भारतीय दूतावास र भारतको आईआईटीएम प्रवर्तक, मद्रासको संयुक्त प्रयासमा यो सेन्टर स्थापना भएको हो । नेपालका २४ वटा स्टार्टअपहरूलाई भारतमा दुई महिनाको सघन क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी गराइएको थियो । उक्त कार्यक्रमको सफलता र सिर्जित ऊर्जालाई दीर्घकालीन रूपमा संस्थागत गर्न यो स्थायी संरचना निर्माण गरिएको हो ।
सेन्टरले नेपालभर स्टार्टअप इकोसिस्टम (पारिस्थितिक प्रणाली) सुदृढ बनाउन आगामी तीन वर्षका लागि पाँचवटा प्रमुख पहलहरू घोषणा गरेको छ । काठमाडौं उपत्यकामा वार्षिक २५ वटा स्टार्टअपलाई व्यावसायिक मार्गनिर्देशन र पूर्वाधार दिने गरी इन्क्युबेशन केन्द्र स्थापना गरिने सेन्टरले जनाएको छ ।
भारतीय दूतावास र निसीसीआईसँगको सहकार्यमा देशभर मासिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरी प्रत्येक वर्ष ५०० स्टार्टअप संस्थापकहरूलाई व्यावसायिक तालिम दिइनेछ भने नेपाल र भारतका विज्ञ वक्ताहरूको सहभागितामा छनोट गरिएका स्टार्टअपहरूसँग हरेक महिना सरोकारवालाको छलफल (टाउन हल) गराइनेछ ।
नवप्रवर्तन र व्यवसायका चुनौतीबारे संस्थापकहरूले प्रत्यक्ष फोनमार्फत परामर्श लिन सक्ने गरी समर्पित हेल्पलाइनको परीक्षणात्मक सञ्चालन गरिने र नेपाल र भारतका स्टार्टअप संस्थापक, लगानीकर्ता तथा साझेदारहरूलाई एकै थलोमा ल्याउन प्रत्येक दुई वर्षमा 'स्टार्टअप संवाद' नामक क्षेत्रीय सम्मेलन आयोजना गरिनेछ ।
इन–स्पानले आफ्नो औपचारिक कार्ययोजना आगामी जुलाईको अन्तिम साता (साउनको पहिलो साता) आयोजना हुने पहिलो टाउन हल कार्यक्रमबाट सुरु गर्ने जनाएको छ । सेन्टरले प्राविधिक तथा शैक्षिक साझेदारीलाई बलियो बनाउन भारतको अग्रणी संस्था आईआईटीएम प्रवर्तक, मद्राससँग संस्थागत सहकार्यको समेत घोषणा गरेको छ ।
प्रथम बोर्ड बैठकमा नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखर र नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का अध्यक्ष सुनील केसीलगायत उपस्थिति थिए ।
बैठकमा बोल्दै प्रथम सचिव शेखरले गत वर्ष तय गरिएको योजनाअनुसार एक वर्षभित्रै इन–स्पान सेन्टर अफ एक्सिलेन्सले औपचारिक स्वरूप पाएकोमा खुसी व्यक्त गरे । उनले यस पहलमार्फत नेपाली युवाहरूलाई भारतीय दूतावासले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
निक्कीका अध्यक्ष केसीले यो पहल करिब एक वर्षअघिको संयुक्त अवधारणाको प्रतिफल भएको बताए । 'कुनै संस्था वा समूह गठन गर्नु मात्र चुनौती होइन, त्यसलाई लक्ष्य, समर्पण र प्रतिबद्धताका साथ सफलतापूर्वक अघि बढाउन सक्षम नेतृत्व चयन गर्नु नै वास्तविक चुनौती हो,' उनले भने ।
यो सेन्टरले नेपाल र भारतका उद्यमी, अनुसन्धानकर्ता तथा संस्थाहरूलाई जोडेर सीमापार सहकार्य र क्षेत्रीय आर्थिक समृद्धिमा योगदान पुर्याउने दीर्घकालीन लक्ष्य राखेको छ ।
