२६ साउनदेखि ३१ सम्म नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२६ आयोजना हुने भएको छ ।
काठमाडौँ — आगामी २६ साउनदेखि ३१ सम्म नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२६ गरिने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा भृकुटीमण्डपमा हुन लागेको एक्स्पोमा ५१ वटा स्टल रहनेछ । ५५ भन्दा बढी विभिन्न कम्पनीका ब्रान्ड र ४० भन्दा बढी नयाँ ब्रान्ड लन्च गरिने आयोजक नाइमाले जनाएको छ ।
एक्सपोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादन समेटिने नाइमाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपालका लागि अटोमोबाइल आयातकर्ता तथा उत्पादन समेट्ने गरी एक वर्षअघि २१ सदस्यबाट सुरु संस्थामा अहिले ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् ।
नाइमाले नाइमा मोबिलिटी एक्सपो र नाइमा मन्थ्ली मोबिलिटी संवादजस्ता प्रमुख कार्यक्रम संस्थागत गरिसकेको उनले सुनाइन् । नाइमामा मोबिलिटी जर्नल र नाइमा क्यापासिटी ब्युल्डिङ ट्रेनिङ सेसनसमेत सुरु गरिसकिएको उनको भनाइ छ ।
गत वर्षको अनुभवलाई अझ परिस्कृत गर्दै आउने संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने नाइमा अटो शो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले बताए । अपांगता भएका व्यक्तिका लागि समेत सहज र उपयुक्त हुने गरी प्रदर्शनीस्थलको व्यवस्थापन गरिने उनले जनाए ।
‘आगन्तुकको सहजताका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ,’ उनले भने, ‘पठाओले राइड पार्टनरका रूपमा एक्सपो अवधिभर भृकुटीमण्डप आउने–जाने यात्राका लागि छुटसहितको राइड सेवा उपलब्ध गराउनेछ ।’
