कान्स कर्पोरेट मिडिया एन्ड टीभी अवार्डको जुरीमा रञ्जित आचार्य

प्रिज्मा एड्भरटाइजिङका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत तथा क्रिएटिभ हेड आचार्य १७ औं कान्स कर्पोरेट मिडिया एन्ड टीभी अवार्ड २०२६ को निर्णायक (जुरी) सदस्यमा मनोनीत भएका छन् ।

जेष्ठ २५, २०८३

कान्तिपुर संवाददाता

Ranjit Acharya on the jury of the Cannes Corporate Media and TV Awards

काठमाडौँ — प्रिज्मा एड्भरटाइजिङका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जित आचार्य १७ औं कान्स कर्पोरेट मिडिया एन्ड टीभी अवार्ड २०२६ को निर्णायक (जुरी) सदस्यमा मनोनीत भएका छन् ।

कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरिटेलिङ) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वकै प्रतिष्ठित अवार्डमध्ये एक मानिने यस प्रतियोगिताको निर्णायक सदस्यमा नेपालीको प्रतिनिधित्व हुनु समग्र नेपालका लागि तथा विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि समेत ऐतिहासिक उपलब्धि रहेको प्रिज्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सन् २०१० मा स्थापना भई अस्ट्रियाको भियना सहरमा मुख्यालय रहेको कान्स कर्पोरेट मिडिया एन्ड टीभी अवार्ड प्रत्येक वर्ष फ्रान्सको कान्स सहरमा आयोजना गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विज्ञापन, ब्रान्ड रणनीति, क्रिएटिभ निर्देशन, फिल्म निर्माण तथा जनसम्पर्क क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव हासिल गरेका आचार्य नेपालको सञ्चार तथा विज्ञापन उद्योगका प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छन् ।’

सिर्जनशीलताका लागि कुनै सीमारेखा वा पासपोर्ट नहुने आचार्यले बताए । ‘यो मनोनयन मेरो मात्र होइन, सीमाभन्दा पर सपना देख्न साहस गर्ने प्रत्येक नेपाली सिर्जनशील व्यक्तिको उपलब्धि हो,’ उनले भने । 

कान्तिपुर

Link copied successfully