नबिल बैंकको नेपाल–भारत ‘क्रस बोर्डर’ रेमिट्यान्स सुरु

क्रस बोर्डर सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।

जेष्ठ २५, २०८३

कान्तिपुर संवाददाता

Nabil Bank launches Nepal-India 'cross-border' remittance

काठमाडौं — नबिल बैंकले नेपाल–भारत–नेपाल ‘क्रस–बोर्डर पर्सन–टु–पर्सन (पी२पी) रेमिट्यान्स सेवा सुरु गरेको छ । यस सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्ने छन् ।

‘यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकले अब आफ्नो मोबाइल बैंकिङ एप ‘एन बैंक’ प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाईलाई तत्काल पैसा पठाउन सक्नेछन्,’ बैंकको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली तथा भारतीय दुवै नागरिकहरूले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्तालाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।’

बैंकका अनुसार यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो । ‘यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्वपूर्ण कदम हो । यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले  भने ।

बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्था र सहजता दुवैलाई ध्यानमा राख्दै सीमा तोकिएको छ । नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम १५ हजार र मासिक अधिकतम १ लाख भारतीय रुपैयाँसम्म पठाउन सक्नेछन् ।

त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम २ लाख भारतीय रुपैयाँसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागु हुने छैन ।

यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) को सहकार्यमा सञ्चालन गरिएको हो ।

कान्तिपुर

Link copied successfully