ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबीआई बैंक १ अर्ब रुपैयाँ लगानी गर्ने
काठमाडौँ — ग्लोबल आईएमई बैंकको अगुवाइमा १ सय ६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापनसम्बन्धी दुईपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
यस आयोजनाको प्रवद्र्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट प्रालि र सहभागी बैंकहरुबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितीमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालिका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यलगायत सहअगुवाइ तथा सहभागी बैंकहरुका प्रतिनिधिले हस्ताक्षर गरे ।
‘२५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आईएमई बैंकको अगुवाइ, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक सहअगुवाई र कृषि विकास बैंक र नेपाल एसबीआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसमध्ये ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबीआई बैंक १ अर्ब रुपैयाँ लगानी गर्ने विज्ञप्तिमा उल्लेख छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने १ सय ६६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ छ ।
