१५ हजार रुपैयाँमा तीन रात, चार दिनको प्याकेज सार्वजनिक गरिएको हो । उक्त प्याकेज खरिद गरेपछि कोठा, खाजा–खाना, सबै इभेन्ट र स्विमिङ पुलमा प्रवेश मिल्ने छ ।
What you should know
भैरहवा — बुद्ध जन्मस्थल लुम्बिनीस्थित पाँचतारे होटल लुम्बिनी हेरिटेजले आन्तरिक पर्यटक लक्षित सस्तो प्याकेज सार्वजनिक गरेको छ । जेठ दोस्रो साता लगातार परेको चारदिने सार्वजनिक बिदा लक्षित गरेर होटलले मंगलबार उक्त प्याकेजबारे जानकारी दिएको हो ।
होटलका महाप्रबन्धक बिजेन्द्रभक्त भाजुले बिहीबारबाट लागू हुने गरी १५ हजार रुपैयाँमा तीन रात, चार दिनको प्याकेज सार्वजनिक गरिएको जनाए । उक्त प्याकेज खरिद गरेपछि कोठा, खाजा–खाना, सबै इभेन्ट र स्विमिङ पुलमा प्रवेश मिल्ने छ । उनका अनुसार बिहीबार मुस्लिम समुदायको चाड ईद परेकाले उक्त चाड लक्षित गरेर प्याकेज ल्याइएको हो ।
ईदका दिन पाहुनाका लागि खानपिनमा छुटका साथै मकाउमा नेपाली बक्सर रवीन्द्र ढाँट सहभागी हुने यूएफसी खेलको प्रत्यक्ष प्रसारण गरिनेछ । उक्त खेलमा ढाँटले फिलिपिन्सका खेलाडीसित प्रतिस्पर्धा गर्दैछन् । शुक्रबार साँझ ६ देखि मध्यरात १२ बजेसम्म विशेष कार्यक्रम सञ्चालन हुनेछ । यसक्रममा खानाका विभिन्न परिकारमा छुट प्रदान गरिएको छ । पौडी पोखरीमा निःशुल्क प्रवेश दिइनेछ ।
लुम्बिनी हेरिटेजका महाप्रबन्धक बिजेन्द्रभक्त भाजु पाहुनालाई स्वागत गर्दै ।
‘काठमाडौं, पोखरा, चितवन र आसपासका आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज ल्याइएको हो,’ होटलका महाप्रबन्धक भाजुले भने, ‘लुम्बिनीमा नेपालीको आवागमन बढोस् भनेर सस्तो प्याकेज ल्याएका हौं ।’ उनका अनुसार शनिबार पुल पार्टी आयोजना गरिनेछ । पुल पार्टीमा सहभागीका लागि खानपिनको व्यवस्था हुने उनले बताए । चौथो दिन आइतबार बिहान लुम्बिनी दर्शनको कार्यक्रम राखिएको छ । यसका लागि होटलले मायादेवी मन्दिरसम्म पाहुनालाई पुर्याएर मन्दिर दर्शन गराएपछि होटलसम्म ल्याउने व्यवस्था गरेको छ ।
‘आइतबार साँझ पाहुनाका लागि होटलमै आइपीएल फाइनल हेर्नका लागि विशेष प्रबन्ध गरेका छौं,’ उनले भने, ‘प्याकेज बाहेक आउने पर्यटकले पनि एक दिनको छुट्टै प्याकेज खरिद गर्न सक्नेछन् । त्यसको पनि प्रबन्ध गरेका छौं ।’ प्याकेज खरिद गरेर आउने पाहुनालाई भैरहवास्थित विमानस्थलबाट होटलसम्म निःशुल्क ल्याउने र पुर्याउने व्यवस्था पनि गरिएको उनले जनाए ।
