यस पहलले देशका हरेक कुनाका विद्यार्थीलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिनेछ ।
काठमाडौँ — एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण विद्यार्थीका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ ।
यस कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीलाई अवसरका नयाँ ढोका खुला गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धताअनुसार यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष १ सय जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।
छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तर्वार्ताका आधारमा विद्यार्थी छनोट गरी प्रदान गरिने एनसेलले जनाएको छ ।
यस पहलले देशका हरेक कुनाका विद्यार्थीलाई समान अवसर सुनिश्चित गर्नुका साथै उच्च शिक्षा हासिल गर्न आर्थिक सहयोग आवश्यक पर्ने विद्यार्थीहरूलाई विशेष प्राथमिकता दिनेछ ।
विद्यार्थीहरूले एनसेलबाट १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क प्राप्त गर्ने बताइएको छ ।
गत वर्ष पनि यस कार्यक्रमअन्तर्गत एनसेल फाउन्डेसनले देशभरका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।
