कम्पनीले एक सय रुपैयाँ अंकित १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो।
What you should know
काठमाडौँ — चितवनको सौराहामा ५ तारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालक केटीएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन (आइपिओ) गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो।
कम्पनीले एक सय रुपैयाँ अंकित १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारीमा आरबीबी मर्चेन्ट बैंकिङ छ।
आईपिओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीले चितवनको सौराहामा कुल १ अर्ब ७० करोड ५ लाख रुपैयाँको लागतमा रिसोर्ट निर्माण सम्पन्न हुने प्रक्षेपण गरिएको छ ।
आईपिओ निष्काशन गरेसंगै यो आयोजनामा ऋण र स्वपूँजीको अनुपात ६१.५ : ३८.५ रहनेछ । अर्थात परियोजनामा बैंक ऋणको हिस्सा अझै बढी रहने देखिएपनि कम्पनीले स्वपूँजीको अनुपात बढाउदै लगेको देखिन्छ । कम्पनीले सन २०२५ को साउन देखि सफ्ट ओपनिङ र असोज मध्यदेखि पूर्ण रूपमा रिसोर्ट सञ्चालनमा ल्याएको हो।
सुरुमा प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको केटीएम हस्पिटालिटी २०८१ असार २५ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो। कम्पनीले आफ्नो परियोजनाको पूँजीगत संरचनालाई थप मजबुत बनाउन, बैंकको ऋण भार कम गर्न र सर्वसाधारणलाई समेत लगानीमा सहभागी गराउन आईपीओ जारी गर्न लागेको हो । होटल उद्योगमा ‘जेस्टेसन पिरियड’ (लगानी फिर्ता हुन लाग्ने समय) लामो हुने भएकाले दीर्घकालीन पूँजी जुटाउन आईपिओ एक महत्वपूर्ण माध्यम बन्ने रिपोर्टमा उल्लेख छ।
रिसोर्ट सञ्चालनका लागि कम्पनीले फ्रान्सेली होटल चेन ‘लुभ्र होटल्स् ग्रुप’ अन्तर्गतको ‘रोयल ट्युलिप’ ब्रान्डसँग व्यवस्थापकीय सम्झौतामा चलिरहेको छ। रिसोर्टमा ६५ वटा आधुनिक कोठाहरू छन् भने रेस्टुरेन्ट, जिम, हेल्थ क्लब, स्विमिङ पुल र हेलिप्याड जस्ता सुविधाहरू छन् ।
