प्रदर्शनीमा नेपाल, भारतसहित विभिन्न देशका ४ सय ७५ भन्दा बढी प्रदर्शक सहभागी हुने, ८ सयभन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र १ हजारभन्दा बढी उत्पादन तथा सेवा एकै स्थानमा प्रदर्शन गरिने
काठमाडौँ — स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्ष्य गर्दै दक्षिण एसियाकै महत्त्वपूर्ण प्रदर्शनी ‘नेपाल मेडिकल एन्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौंमा आयोजना हुने भएको छ ।
एसडी प्रोमो मिडिया प्रालिले केमसान नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको एक्स्पो १७ देखि १९ वैशाखसम्म भृकुटीमण्डप प्रदर्शनीस्थलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
यस वर्षको संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ । प्रदर्शनीमा नेपाल, भारतसहित विभिन्न देशका ४ सय ७५ भन्दा बढी प्रदर्शक सहभागी हुने, ८ सयभन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र १ हजारभन्दा बढी उत्पादन तथा सेवा एकै स्थानमा प्रदर्शन गरिने आयोजकले बताएको छ ।
तीन दिन चल्ने एक्स्पोलाई स्वास्थ्य सेवा, औषधि (फर्मास्युटिकल) तथा अनुसन्धान क्षेत्रका लागि महत्त्वपूर्ण ‘बीटुबी’ प्लाटफर्मका रूपमा लिइएको आयोजकको भनाइ छ ।
यसले व्यापारिक सहकार्य विस्तार, स्रोत पहिचान, प्रविधि आदानप्रदान तथा उच्चस्तरीय नेटवर्किङका लागि उपयुक्त वातावरण सिर्जना गर्ने आयोजकको विश्वास छ ।
