३४औं वर्षमा नर्भिक अस्पताल

सर्वसाधारणका लागि चुक्ता पुँजीको २० प्रतिशत कित्ता साधारण सेयर निस्कासनका लागि प्रक्रिया पनि सुरु

वैशाख १, २०८३

कान्तिपुर संवाददाता

Norvic Hospital in its 34th year

काठमाडौँ — आज वैशाख १ गतेदेखि ३३ वर्ष पूरा भएर ३४औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा नर्भिकले प्रभातफेरि र रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

थापाथलीस्थित अस्पताल परिसरबाट सुरू भएको प्रभातफेरी त्रिपुरेश्वर, सुन्धारा, वसन्तपुर, रत्नपार्क, भद्रकालि, माइतिघर हुँदै पुनः अस्पतालमा आएर टुङ्गिएको थियो । यस्तै अस्पताल परिसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । 

नर्भिकले स्थापनाकालदेखि हालसम्मको ३३ वर्षको अवधिमा झन्डै ५० लाख बिरामीलाई सेवा दिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । 

‘निजी क्षेत्रको स्वास्थ्य सेवामा मानक स्थापित गर्न सफल नर्भिक अस्पतालले आफ्नो ३३ वर्षको यात्राका क्रममा उच्चस्तरीय स्वास्थ्य सेवा, दक्ष जनशक्ति र आधुनिक प्रविधिको संयोजनमार्फत् झन्डै ५० लाख बिरामीलाई सेवा दिइसकेको छ,’ उनले भने । 

मिश्रले आगामी दिनमा पनि अस्पतालको सेवालाई अझै उत्कृष्ट र विश्वसनीय बनाउँदै बिरामीको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । उनका नर्भिक स्वदेशका सबै वर्ग र समुदायका साथै विदेशी नागरिकका लागि समेत विश्वसनीय गन्तव्य बनेको छ । हालसम्म सातै महादेशका ४० भन्दा बढी मुलुकका नागरिकलाई गुणस्तरीय उपचार सेवा दिएको छ । 

हाल २ सय शय्या स्वीकृतिप्राप्त नर्भिकले आफ्नो क्षमता वृद्धिका लागि बनाउन लागेको अत्याधुनिक ८ तले भवन निर्माणको अन्तिम चरणमा छ । भवन निर्माणसँगै अस्पतालको क्षमता ३ सय बेडको हुनेछ । 

अस्पताल सन् २०२१ को जुलाई १७ देखि पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । सीईओ मिश्रका अनुसार सर्वसाधारणका लागि चुक्ता पुँजीको २० प्रतिशत कित्ता साधारण सेयर निस्कासनका लागि प्रक्रिया पनि सुरु  भएको छ । जसका लागि निस्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । 

सीईओ मिश्रका अनुसार मल्टिस्पेसियालीटी अस्पतालको रूपमा सेवालाई विस्तार गर्ने क्रममा नर्भिक इन्टिग्रेटेड क्यान्सर इन्स्टिच्युट स्थापना गर्ने योजना पनि नर्भिकको छ । 

कान्तिपुर

Link copied successfully