होटल पौवाको तीनदिने ‘स्वाद उत्सव’ हुने

होटल पौवाको भैरहवा शाखाले मंगलबार पत्रकार सम्मेलन गरी मुलुकभरि रहेका आफ्ना २० वटा शाखामा नेपाली रैथाने स्वाद र विशेष अतिथि सत्कारसहित चैत २६, २७ र २८ गते ‘स्वाद उत्सव’ कार्यक्रम गरिने जानकारी दिएको हो ।

चैत्र २४, २०८२

माधव ढुंगाना

Hotel Pauwa to host three-day 'taste festival'

भैरहवा — स्थापनाको १०औं वार्षिकोत्सवको अवसरमा होटल पौवाले बिहीबारदेखि देशभर रहेका आफ्ना शाखामा तीनदिने ‘स्वाद उत्सव’ सुरु गर्ने भएको छ । 

होटल पौवाको भैरहवा शाखाले मंगलबार पत्रकार सम्मेलन गरी मुलुकभरि रहेका आफ्ना २० वटा शाखामा नेपाली रैथाने स्वाद र विशेष अतिथि सत्कारसहित ‘स्वाद उत्सव’ कार्यक्रम गरिने जानकारी दिएको हो । 

यही चैत २६, २७ र २८ गते तीन दिनसम्म स्वाद उत्सव सञ्चालन हुने र स्वाद उत्सवको पूर्वसन्ध्यामा चैत २५ मा होटलका सम्पूर्ण कर्मचारीसहित भैरहवामा र्‍यालीसहित नगर परिक्रमा गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको होटल पौवा भैरहवा शाखाका महाप्रबन्धक निशान्त खरेलले बताए । 

‘२६, २७ र २८ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म थरीथरीका रैथाने नेपाली स्वाद पस्किएर उत्सव मनाइनेछ र उत्सवको पूर्वसन्ध्यामा बुधबार नगरपरिक्रमा र रक्तदानबाट गरिनेछ,’ खरेलले भने, ‘हरेक दिन दुईथरीका फरक खाना भने निःशुल्क उपलब्ध गराइनेछ ।’

उत्सवका क्रममा देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणा–पत्र वितरण गरिएको छ ।

चैत २८ गते आफ्ना २ सय ५० भन्दा बढी लगानीकर्ताको सहभागितामा भैरहवामा ‘मिसन १००’ को अवधारणाअनुरूप लगानी सम्मेलन पनि गर्ने भएको छ ।

यसै गरी होटल पौवाको पाल्पा शाखाले पनि तीनदिने 'स्वाद उत्सव' मनाउने तयारी पूरा गरेको प्रबन्धक यदु भट्टराईले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई चिनाउने योजना रहेको उनले बताए ।

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully