नेपाः ट्राभल्सद्वारा आन्तरिक गन्तव्यका लागि भ्रमण प्याकेज

नेपाः ट्राभल्सका सञ्चालक सन्जय बजिमयले लुम्बिनी, पोखरा, मुक्तिनाथ, चितवन, काठमाडौं र बर्दिया लगायत गन्तव्यका लागि भ्रमण प्याकेज सार्वजनिक गरिएको जानकारी दिए ।

चैत्र २०, २०८२

कान्तिपुर संवाददाता

Nepal: Travels offers tour packages for domestic destinations

What you should know

भैरहवा — रूपन्देहीको भैरहवामा मुख्य कार्यालय रहेको नेपाः ट्राभल्स एण्ड टुर्स प्रालिले आन्तरिक तथा बाह्य पर्यटक लक्षित गरेर मुलुकका पर्यटकीय गन्तव्य भ्रमण प्याकेज सार्वजनिक गरेको छ । मुलुकका ७७ वटै जिल्लामा अनलाइन शाखा विस्तारका क्रममा मुलुकका प्रमुख पर्यटकीय गन्तव्य भ्रमण गर्ने स्वदेशी तथा विदेशीका लागि प्याकेज घोषणा गरेको हो । 

नेपाः ट्राभल्सका सञ्चालक सन्जय बजिमयले लुम्बिनी, पोखरा, मुक्तिनाथ, चितवन, काठमाडौं र बर्दिया लगायत गन्तव्यका लागि भ्रमण प्याकेज सार्वजनिक गरिएको जानकारी दिए । अधिकांश गन्तव्यका लागि दुई रात तीन दिनका लागि प्याकेज सार्वजनिक गरिएको हो । रूपन्देहीको बेलहिया नाका र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने पर्यटकलाई भैरहवाबाट पर्यटकीय गन्तव्यमा सहज ढंगले घुमाउन प्याकेज तयार गरिएको हो । 

रूपन्देही पर्यटकीय केन्द्र भए पनि यहाँबाट अन्य गन्तव्यका लागि भ्रमण प्याकेज घोषणा गरिएको थियो । सञ्चालक बजिमयका अनुसार भैरहवाबाट लुम्बिनीमा दुई रात तीन दिन घुमफिर गरेको १५ हजार ९ सय ९९ भारतीय रुपैयाँ तोकिएको छ । त्यति नै खर्चमा पोखरा घुम्न सकिनेछ । यहाँबाट मुक्तिनाथसम्म तीन रात चार दिनको भ्रमण प्याकेज रहेको छ । त्यसको ८ हजार ४ सय ९९ भारतीय रुपैयाँ तोकिएको छ । 

चितवनमा दुई रात तीन दिनको १५ हजार ९ सय ९९ भारतीय रुपैयाँको भ्रमण प्याकेज रहेको छ । यसमा काठमाडौंबाट चितवनसम्मको हवाई भाडा समेटिएको छ । यहाँबाट काठमाडौंको दुई रात तीन दिनको प्याकेजको ९ हजार ९ सय ९९ भारतीय रुपैयाँ तय गरिएको छ । ‘भैरहवाबाट मुलुकका अन्य गन्तव्यमा भ्रमण गर्ने धेरै भारतीय नागरिक हुन्छन्,’ उनले भने, ‘त्यसैले प्याकेज मूल्य पनि भारतीय रुपैयाँमा राखिएको हो ।’ 

नेपाली पर्यटक लक्षित गरेर नेपाली रुपैयाँमा पनि प्याकेज तयार गरिएको उनले बताए । यस्तो प्याकेजमा पर्यटकका लागि आवश्यक यातायात, होटल आवास, ब्रेकफास्ट, खाना, गाइड, साइट सिन, जंगल सफारी लगायत सुविधा समेटिएका छन् । गन्तव्य हेरेर यस्ता सुविधा फरक–फरक रहेको उनले बताए ।

कान्तिपुर

Link copied successfully