माउन्टेन ड्युको ‘पिक्स अफ करेज’ अभियानलाई स्पाइक्स एसियामा पुरस्कार

कम्पनीका अनुसार ‘सक्रियता’ विधामा मुख्य पुरस्कार, ‘नवप्रवर्तन’ मा रजत तथा ‘सृजनात्मक तथ्यांक’ र ‘ब्रान्ड अनुभव’ विधामा कांस्य पुरस्कार प्राप्त गरेको हो ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — पेय पदार्थ ब्रान्ड माउन्टेन ड्युको ‘पीक्स अफ करेज’ (साहसका शिखरहरू) अभियानले स्पाइक्स एसिया २०२६ मा मुख्य पुरस्कार (ग्रान्ड प्रिक्स) जितेको छ ।

कम्पनीका अनुसार अभियानले ‘सक्रियता’ विधामा मुख्य पुरस्कार, ‘नवप्रवर्तन’ मा रजत तथा ‘सृजनात्मक तथ्यांक’ र ‘ब्रान्ड अनुभव’ विधामा कांस्य पुरस्कार प्राप्त गरेको हो ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियान डिस्कभरी च्यानलमार्फत विश्वभर प्रचार गरिएको थियो । नेपालमै सुरु भएको अभियानले अन्तर्राष्ट्रिय स्तरमा यस्तो सफलता हासिल गर्नु महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

अभियानले क्यूआर प्रविधि, डिजिटल माध्यम र ‘डेयर स्कोर’ (साहस मापन सूचक) जस्ता नवप्रवर्तनमार्फत सगरमाथाबाहेकका हिमालहरूको सम्भावना उजागर गर्दै नेपालको पर्वतारोहण कथालाई नयाँ ढंगले प्रस्तुत गरेको जनाएको छ ।

सन् २०२५ मा सुरु गरिएको अभियानले टेलिभिजन, डिजिटल माध्यम र प्रभावशाली व्यक्तिहरूमार्फत करिब २ करोड मानिससम्म पहुँच बनाएको दाबी गरिएको छ । साथै, करिब ४ लाख अनलाइन अन्तर्क्रियामार्फत प्रयोगकर्तालाई वास्तविक अभियान योजनातर्फ आकर्षित गरिएको थियो ।

अभियानले १०० भन्दा बढी सगरमाथाबाहेकका आरोहणलाई प्रवर्द्धन गर्नुका साथै २ हजारभन्दा बढी मौसमी रोजगारी सिर्जना गर्दै स्थानीय समुदायको जीविकोपार्जनमा योगदान पुर्‍याएको कम्पनीले जनाएको छ ।

पेप्सिकोका क्षेत्रीय देश प्रमुख (पेय पदार्थ) नफिसा नवाज चौधरीले ‘पिक्स अफ करेज’ अभियानले माउन्टेन ड्युको साहसी पहिचानलाई प्रविधि, संस्कृति र साहससँग जोडेको बताइन् । उनले अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सफलताले सृजनात्मक सोच र प्रभावकारी कार्यान्वयनको पुष्टि गरेको उल्लेख गरिन् ।

अभियानमार्फत तयार पारिएको सामग्रीले विश्वभरका पर्वतारोहीलाई प्रेरित गरिरहेको र नेपालका शेर्पा तथा स्थानीय समुदायको दिगो विकासमा समेत सहयोग पुगेको कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully