नेपाल टेलिकमले टेलिनोर डेनमार्क र एसके टेलिकमसँगको सहकार्यमा डेनमार्क र दक्षिण कोरियामा 'भोल्टी रोमिङ' सेवा विस्तार गरेको छ, अब ८ देशमा यो सेवा उपलब्ध छ ।
काठमाडौँ — नेपाल टेलिकमले डेनमार्क र दक्षिण कोरियामा अन्तर्राष्ट्रिय 'भोल्टी रोमिङ' सेवा सुरु गरेको छ । यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकमबीच सम्झौता भएको छ ।
यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिलेदेखि नै उपलब्ध छ । यस अनुसार अब ८ देशमा 'भोल्टी रोमिङ' सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले यसका लागि ती देशका ९ सेवा प्रदायकसँग सम्झौता गरेको जनाएको छ ।
विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ । अन्तर्राष्ट्रिय 'भोल्टी रोमिङ' सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ ।
भोल्टी अर्थात भ्वाइस ओभर एलटीई नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिलेदेखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि उक्त सेवा चल्ने हुनुपर्छ ।
मोबाइलको स्क्रिनको माथिल्लो भागमा HD वा VoLTE लेखेको छ भने उक्त मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ । यदि छैन भने *444# डायल गरी Activate VoLTE विकल्प छान्नु पर्छ । त्यसपछि यो सेवा सुचारु हुने नेपाल टेलिकमले जनाएको छ ।
