ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य

समझदारीअनुसार प्रतिष्ठानले आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न नागरिकहरूमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेछ ।

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

Collaboration between Global IME Bank and Tilganga Eye Institute

काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न नागरिकहरूमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेसम्बन्धी समझदारी भएको छ । 

बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक सन्दुक रुइतको उपस्थितिमा  समझदारी भएको हो ।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरेका हुन् । 

प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न नागरिकको निःशुल्क रुपमा मोतिविन्दुको पहिचान गरी शल्यक्रिया गर्ने छ । 

विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर तथा विपन्न छात्रा/छात्रहरूको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क रुपमा चश्मा वितरण गरिने समेत समझदारी भएको छ । 

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका ७७ जिल्लामा रहेका शाखा कार्यलयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा बेलाबेलामा आइपर्ने विभिन्न दैविक प्रकोपहरूमा उद्दार तथा राहतमा विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए ।

रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौती दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए । उनले आफूहरूले कुनै पनि कार्यक्रममा पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको पनि उल्लेख गरे ।

कान्तिपुर

Link copied successfully