पास्कल नेशनल कलेज उपविजेता बन्दै ७५ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ ।
काठमाडौँ — डीएभी कलेजको आयोजनामा सम्पन्न चौथो बीसीए कप पुरुष अन्तर–कलेज फुटसल प्रतियोगितामा नागार्जुन कलेज अफ आईटी विजेता बनेको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कलेजका २८ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता व्हिजी डेभियन्स र कोग्निटो आईटी क्लबको संयोजनमा आयोजना गरिएको हो।
प्रतिस्पर्धात्मक फाइनल खेलपछि नागार्जुन कलेज अफ आईटीले उपाधि जित्दै नगद १ लाख ५० हजार रूपैयाँ पुरस्कार हात पारेको छ। पास्कल नेशनल कलेज उपविजेता बन्दै ७५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भयो।
कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी बिकेश कुथु प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा बोल्दै उनले आईटी अध्ययन गर्ने विद्यार्थीका लागि खेलकुदको महत्त्व उल्लेख गरे। डीएभी कलेजका अध्यक्ष अनिल केडियाले प्रविधिमुखी जीवनशैलीका कारण विद्यार्थीहरूका लागि शारीरिक गतिविधि झन् आवश्यक बन्दै गएको बताए।
व्यक्तिगततर्फ नागार्जुन कलेज अफ आईटीका रिशव श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए भने श्रेयन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने। उत्कृष्ट खेलाडीको उपाधि पास्कल नेशनल कलेजका आवास योञ्जनले प्राप्त गरे।
डीएभी बीएससी/बीसीएका एकेडेमिक हेड शशिभूषण चतुर्वेदीका अनुसार प्रतियोगिताको उद्देश्य विभिन्न बीसीए कलेजबीच मित्रता, सहकार्य र समन्वय अभिवृद्धि गर्नु हो। प्रतियोगिताको समन्वय बीसीए प्रोग्राम हेड सुदीप अधिकारीले गरेका थिए।
