सावित्रालाई युनाइटेड सिमेन्ट्सको ५ लाख सहयोग

घुँडाको जटिल शल्यक्रियाका लागि आर्थिक सहयोग आवश्यक परेको भन्दै सावित्रा भण्डारीले सार्वजनिक रूपमा सहयोगको अपिल गरेपछि कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

United Cements provides Rs 5 lakh to Savitra

काठमाडौँ — केएल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्सले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी को उपचारका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उनको घुँडामा गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक सहयोग आवश्यक परेको भन्दै सार्वजनिक रूपमा सहयोगको अपिल गरिएपछि कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

लामो समयदेखि राष्ट्रिय टोलीको अग्रपंक्तिमा रहेर देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आएकी कप्तान भण्डारी हाल चोटका कारण मैदान बाहिर रहन बाध्य छिन् । पछिल्लो सात हप्तादेखि उनी पुनःस्थापनाको प्रक्रियामा रहेकी छन् । 

'कप्तान सावित्रा भण्डारी हाम्रो देशको गौरव हुन् । उनले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्त्वपूर्ण योगदान दिएकी छन् ,' ‍कम्पनीद्वारा जारी ‍विज्ञप्तिमा उल्लेख छ, 'उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक उपचारपछि छिट्टै मैदानमा फर्किने छन् भन्ने हाम्रो विश्वास छ ।'

युनाइटेड सिमेन्टले खेलाडीहरू देशको पहिचान र गौरवका वाहक भएकाले उनीहरूको कठिन समयमा साथ दिनु सामाजिक दायित्व पनि भएको उल्लेख गरेको छ । खेल क्षेत्रको विकास र खेलाडीहरूको मनोबल उच्च राख्न निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको कम्पनीको धारणा रहेको छ ।

नेपाली महिला फुटबल टोलीकी कप्तान भण्डारीले विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबललाई नयाँ उचाइमा पुर्‍याएकी छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully