पूर्ण क्षमतामा सञ्चालनमा आयो यूलेन्स स्कुल

युलेन्स एजुकेसन फाउन्डेसनले फाउन्डेसनको बोर्डको पुनर्संरचना तथा युलेन्स स्कुलको शैक्षिक नेतृत्व र विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा परिवर्तन पनि गरेको छ।

माघ २९, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — युलेन्स एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित युलेन्स स्कुल काठमाडौं भौतिक रुपमै पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । २४ भदाैमा भएकाे जेन-जी आन्दाेलनबाट क्षतिग्रस्त बनेकाे युलेन्स स्कुल काठमाडौंले क्षतिग्रस्त सबै भौतिक संरचना पूर्णरुपमा पुनर्निर्माण गर्दै सञ्चालनमा ल्याएकाे हाे ।

युलेन्स स्कुल ललितपुरमा भौतिक पुर्ननिर्माण आंशिक तवरमा भएपनि पुनर्निर्माणा सम्पन्न भएका केही भवनमा कक्षा सञ्चालन गर्न सकिने भएकाे छ । केही भवनको पुनर्निर्माण प्रक्रिया जारी छ । युलेन्स कलेज, ग्याप इयर कार्यक्रम र शिक्षक तालिम केन्द्रजस्ता अन्य कार्यक्रमहरू पनि भौतिकरुपमा पुनः सञ्चालनको प्रतिक्षामा छन् ।

जेन-जी प्रदर्शनपछि खरानी बनाइएका सवारी साधनहरूलाई वातावरणमैत्री विद्युतीय बसहरूद्वारा प्रतिस्थापन गर्दै आगामी शैक्षिकसत्रदेखि विद्यार्थीहरूको परिवहन सुविधालाई व्यवस्थित गर्न प्रक्रिया अगाडि बढाएको फाउन्डेसनले जनाएको छ । साथै सन् २००६ मा स्थापित युलेन्स एजुकेसन फाउण्डेसनले युलेन्स स्कुल ललितपुर, युलेन्स स्कुल काठमाडौं, युलेन्स लिप, युलेन्स कलेज र युलेन्स शिक्षक तालिम केन्द्रजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै अएकाे छ।

युलेन्स एजुकेसन फाउन्डेसनले भौतिक संरचनाहरूको पुनर्निर्माणसँगै विद्यालयको तमाम शैक्षिक वातावरण र विद्यार्थीहरूको सिकाई प्रक्रियालाई थप व्यवस्थित, सुदृढ र सिर्जनशील बनाउन संस्थाको नीतिगत नेतृत्वमा समेत पुनर्संरचना गरेको छ।

परिवर्तित परिवेशमा संस्थालाई थप उर्जा र व्यावसायिकताका साथ संचालन गनुपर्ने भएकाले युलेन्स एजुकेसन फाउन्डेसनले फाउन्डेसनको बोर्डको पुनर्संरचना तथा युलेन्स स्कुलको शैक्षिक नेतृत्व र विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा परिवर्तन गरेको छ।

युलेन्स एजुकेसन फाउन्डेसनको 'बोर्ड अफ ट्रष्टिज' को नयाँ सदस्यमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा भोला थापा, बैंकिङ विज्ञ प्रद्युम्नकुमार खनाल र शैक्षिक तथा सुरक्षा विज्ञ डा. मनिष थापा रहेका छन् । 

संस्थाको सुशासन र शैक्षिक नेतृत्वसमेत सुदृढ बनाउने कार्ययोजनाअर्न्तगत ललितपुरस्थित युलेन्स स्कुलको नेतृत्वमा एकता राणा प्रधानाध्यापक (प्रिन्सिपल) मा नियुक्त भएकी छिन् ।

पूर्व प्रिन्सिपल मेदिनबहादुर लामिछाने अब युलेन्स एजुकेसन फाउन्डेसनको प्रमुख प्राज्ञिक अधिकारीको भूमिकामा क्रियाशील हुनेछन् ।

फाउन्डेसनका संस्थापक अध्यक्ष सोम पनेरुले लामिछानेको प्रगतिशील शिक्षाशास्त्र र शैक्षिक नेतृत्वको अनुभवले संस्थाको शैक्षिक दिशालाई मजबुत बनाउने बताए । 

व्यवस्थापन समितिको नेतृत्व परिवर्तन नियमित सुशासन, रुपान्तरण र पुनर्संरचना प्रक्रियाअन्तर्गत पूर्व अध्यक्ष डा. आरजु राणा देउवाको लामो समयको कार्यकाल पूरा भएसँगै युलेन्स एजुकेसन फाउन्डेसनअर्न्तगतका विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी प्राडा थापाले सम्हालेका छन् । 

कान्तिपुर

Link copied successfully