कायलाकको सुरुआती मूल्य ४५ लाख ९० हजार रुपैयाँ छ । स्वचालित (अटोमेटिक) को मूल्य ५२ लाख ९० हजार रुपैयाँबाट सुरु हुनेछ ।
What you should know
काठमाडौँ — स्कोडा नेपालले ‘स्कोडा कायलाक’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। ‘स्कोडा कायलाक’ को औपचारिक सुरुआत एमएडब्लू समूहका अध्यक्ष विष्णुकुमार अग्रवाल र एमएडब्लू एक्सपान्जका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा गरेका हुन् ।
उनीहरूले कायलाक नेपालको विविध सडक अवस्थाका लागि उपयुक्त रहेको बताए । सहर, राजमार्ग तथा पहाडी सडकमा समान रूपमा उपयोगी एसयूभीका रूपमा यसलाई प्रस्तुत गरिएको छ।
कम्प्याक्ट आकार भए पनि कायलाकले सशक्त उपस्थितिसहित सहज र स्थिर ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । ११५ ब्रेक हर्सपावर शक्ति र १७८ न्युटन मिटर टर्क दिने टर्बोचार्ज्ड पेट्रोल इन्जिनयुक्त यो गाडीले उकालो, ओभरटेक तथा दैनिक यात्रामा सन्तुलित प्रदर्शन दिने बताइएको छ।
विभिन्न सतह र ग्राभेल सडकमा समेत नियन्त्रण कायम राख्नेगरी यसको शक्ति सन्तुलन मिलाइएको कम्पनीले जनाएको छ। कायलाकको मूल्य ४५ लाख ९० हजार रुपैयाँदेखि सुरु हुन्छ। स्वचालित (अटोमेटिक) संस्करणको मूल्य ५२ लाख ९० हजार रुपैयाँबाट प्रारम्भ हुन्छ। ट्राफिक तथा उकालोमा रोकिँदा–चलाउँदा सहज र तनावमुक्त हुने यसको विशेषता भएकाे कम्पनीको भनाइ छ ।
सुरक्षातर्फ, स्कोडाको पाँचतारे सुरक्षा इन्जिनियरिङमा आधारित कायलाकले अन्तर्राष्ट्रिय ‘युरो एनक्याप’ र ‘भारत एनक्याप’ जस्ता क्र्यास परीक्षणमा पाँचतारे मूल्याङ्कन प्राप्त गरेको कम्पनीले जनाएको छ । नेपालका मनाङ, ढोरपाटन र तीनजुरे (३,७५६ मिटर) जस्ता उच्च तथा चुनौतीपूर्ण भूभागमा पनि परीक्षण गरिएको थियाे ।
भारतमा सार्वजनिक भएको पहिलो वर्षमै ५० हजारभन्दा बढी युनिट बिक्री भएको कायलाकले विभिन्न अटो अवार्ड कार्यक्रमबाट ‘कार अफ द इयर २०२५’ लगायत सम्मान प्राप्त गरिसकेको कम्पनीको भनाइ छ।
