अब विद्यालयको टोली विश्व चरणको तयारीमा जुटेको छ।
What you should know
काठमाडौँ — प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले वर्ल्ड स्कलर्स कप २०२६ को काठमाडौं क्षेत्रीय प्रतियोगितामा ऐतिहासिक सफलता हासिल गरेको छ । प्रतियोगितामा प्रिमियरले एकैपटक सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार ‘ज्याक खोर अवार्ड’, सर्वश्रेष्ठ टोलीको उपाधि तथा ७१८ पदक र १८ ट्रफी जितेको हो ।
विद्यालयकी छात्रा श्रुति श्रेष्ठले ‘ज्याक खोर अवार्ड’ जित्दै नयाँ कीर्तिमान कायम गरेकी छन्। यो उनको लगातार चौथो ‘ज्याक खोर अवार्ड’ हो। यसअघि उनले सन् २०२५ को काठमाडौं क्षेत्रीय चरण, बैंककमा आयोजित विश्व चरण तथा अमेरिकाको येल विश्वविद्यालयमा सम्पन्न ‘टुर्नामेन्ट अफ च्याम्पियन्स २०२५’ मा पनि यही पुरस्कार जितेकी थिइन्। एउटै विद्यार्थीले लगातार चार पटक यस्तो उच्च सम्मान प्राप्त गर्नु वर्ल्ड स्कलर्स कपको इतिहासमै विशेष उपलब्धि मानिएको छ।
प्रिमियरले सर्वश्रेष्ठ टोलीको उपाधि पनि आफ्नै विद्यार्थीहरूको समूहमार्फत जित्न सफल भएको छ। रिशित मैनाली, दृश्य रत्न शाक्य र नृप्शा कार्की सम्मिलित टोली प्रतियोगिताको सबैभन्दा बढी अंक ल्याउने समूह बनेको थियो। रिशितले ९ स्वर्ण र ९ रजत पदकसहित ४ ट्रफी जिते। दृश्यले ८ स्वर्ण र ८ रजत पदक प्राप्त गरे भने नृप्शाले १२ स्वर्ण, ३ रजत पदक र १ ट्रफी जित्दै टोलीको सफलतामा महत्वपूर्ण योगदान दिइन्।
प्रिमियरको सफलता यतिमै सीमित रहेन। श्रुति श्रेष्ठको नेतृत्वमा रहेको अर्को टोली (आरव कृष्ण श्रेष्ठ र रैय्या कोइराला) ले २२ स्वर्ण, १२ रजत पदक र ५ ट्रफी जित्यो। त्यस्तै, तेन्जिङ दावोए लामा, हृद्दिमा अग्रवाल र आरजल अधिकारी सम्मिलित टोलीले १७ स्वर्ण, ६ रजत पदक र ३ ट्रफी जित्दै उत्कृष्ट प्रदर्शन गर्यो।
समग्रमा प्रतियोगितामा प्रिमियरका विद्यार्थीहरूले ३१३ स्वर्ण, ३८७ रजत पदक र १८ ट्रफी जितेका छन्। यो काठमाडौं क्षेत्रीय प्रतियोगिताको इतिहासकै सशक्त प्रदर्शनमध्ये एक मानिएको छ। शीर्ष व्यक्तिगत पुरस्कार र शीर्ष टोली दुवै प्रिमियरले जित्नुले विद्यालयको शैक्षिक उत्कृष्टता थप पुष्टि गरेको छ।
सन् २०१९ मा नेपालमा पहिलो पटक वर्ल्ड स्कलर्स कप भित्र्याएको तथा काठमाडौं क्षेत्रीय प्रतियोगिताको निरन्तर आयोजक विद्यालयका रूपमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलले देशका विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक मञ्च उपलब्ध गराउँदै आएको छ। अब विद्यालयको टोली विश्व चरणको तयारीमा जुटेको छ।
