अब किसानहरूले मोबाइल ब्यालेन्सबाटै कृषि सल्लाह, सूचना र विशेषज्ञसँगको सम्पर्क सहजै गर्न सक्ने ।
काठमाडौँ — देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लाटफर्म सुपर कृषकले सहकार्य गरेका छन् । यो सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सहजै सबै किसानसम्म आधुनिक कृषि सेवाहरू उपलब्ध गराउनु रहेको विज्ञप्तीमा उल्लेख छ ।
हालसम्म देशका ३० हजारभन्दा बढी किसानहरू सुपर कृषक प्लाटफर्ममा दर्ता भइसकेको विज्ञप्तीमा उल्लेख छ । एनसेलको बृहत् नेटवर्क पहुँच र लाखौँ सक्रिय ग्राहकहरू भएकाले अब सुपर कृषकका प्रिमियम सेवाहरू आम किसानहरूलाई भ्यालु एडेड दूरसञ्चार सेवाका रूपमा उपलब्ध भएको छ । योसँगै नेपालमै पहिलोपटक किसानहरूले भ्वाइस, डेटा वा एसएमएस सेवा लिएझैँ सहज रूपमा आफ्नो मोबाइल ब्यालेन्सबाटै कृषि सेवाको लाभ उठाउन सक्ने भएका छन् ।
सुपर कृषक एपमा विभिन्न अवधिका सदस्यता प्याकेज उपलब्ध छन् । एक वर्षको प्याक किस्ताबन्दीमा लिन चाहनेले प्रत्येक तीन दिनमा १३ रुपैयाँ तिर्दै वार्षिक १,५६० रुपैयाँ खर्चिनुपर्नेछ। त्यस्तै छ महिनाका लागि प्रत्येक तीन दिनमा १४ रुपैयाँ भुक्तानी गरी कुल ८४० रुपैयाँ तिर्नुपर्नेछ । एकमुष्ट भुक्तानी गर्ने किसानहरूले भने ६ महिनाको लागि ७५६ रुपैयाँ तथा एक वर्षको लागि १,२४८ रुपैयाँ तिरेर सेवा लिन सक्छन् ।
एनसेल र सुपर कृषकले यो सेवा अबको एक वर्षमै १ लाख २० हजारभन्दा बढी किसानसम्म पुर्याउने लक्ष्य राखेका छन् । यो महत्त्वपूर्ण कदमले कृषिसम्बन्धी ज्ञान अभिवृद्धि गर्न, किसान र विशेषज्ञबीचको दूरी घटाउन साथै ग्रामीण नेपालमा रहेको डिजिटल खाडल कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
