वेब समिट कतार २०२६ मा नेपाली एआई प्रविधि टिङ्टिङ्‌को प्रस्तुति

समिटको प्रतिष्ठित 'स्टार्टअप शोकेस' का लागि छनोट हुनु नेपालको प्रविधि क्षेत्रका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — नेपालको पहिलो एआई-सञ्चालित बिजनेस कम्युनिकेसन सुइट, टिङ्‌टिङ्‌ले वेब समिट कतार २०२६ मा आफ्नो सहभागिता सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

यस क्षेत्रकै सबैभन्दा ठूलो प्रविधि सम्मेलनमा नेपालको एकमात्र प्रतिनिधिका रूपमा टि‌ङ्टिङ्ले आफ्नो 'अन्डरस्ट्यान्डिङ इन्जिन' लाई १२० देशका १६ सयभन्दा बढी स्टार्टअप र करिब एक हजार लगानीकर्तासहित ३० हजारभन्दा बढी सहभागीहरूका माझ प्रस्तुति दिएको हो ।

समिटको प्रतिष्ठित 'स्टार्टअप शोकेस' का लागि छनोट हुनु नेपालको प्रविधि क्षेत्रका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ । स्थापना भएको एक वर्ष पनि नपुग्दै टिङ्टिङ्ले कडा विश्वव्यापी छनोट प्रक्रिया पार गर्नुले नेपाल अब विदेशी प्रविधिको उपभोग गर्ने मात्र नभई अन्तर्राष्ट्रिय स्तरको एआई विकास गर्न सक्षम छ भन्ने कुरालाई पुष्टि गरेको कम्पनीको भनाइ छ ।

दोहामा टिङ्टिङ्‌ले मुख्य रूपमा व्यवसायहरुमा हुने सञ्चारको ग्याप र ग्राहकहरुसँगको सम्पर्क टुट्‌ने समस्याको समाधानबारे प्रस्तुति दिएको थियो ।

टिङ्टिङ्‌ले यसलाई एक विस्तृत 'अन्डरस्ट्यान्डिङ सिस्टम'मार्फत सम्बोधन गर्दछ, जसले सबै अन्तरक्रियाहरुलाई एकै ठाउँमा ल्याई उपयोगी जानकारीमा परिणत गर्ने कम्पनीको भनाइ छ । सन्देशहरु मात्र पठाउने परम्परागत उपकरणहरू भन्दा फरक, टिङ्टिङ्‌का भ्वाइस, टेक्स्ट, फर्म्स र एआई एजेन्टहरू ग्राहकको वास्तविक मनसाय बुझ्नका लागि डिजाइन गरिएको कम्पनीको दाबी छ ।

कार्यक्रमको मुख्य आकर्षण टिङ्टिङ्‌को आफ्नै 'रिरि' भ्वाइस इन्जिन थियो । पूर्णरुपमा नेपालमै निर्मित र प्रशिक्षित यो इन्जिनले जटिल र कम भाषिक स्रोत भएका आषाहरुमा पनि सटिकताका साथ काम गर्न सक्छ, जुन प्रायः विश्वव्यापी एआई मोडेलहरुले गर्न नसक्ने कम्पनीको दाबी छ ।

नेपालका ६० भन्दा बढी ठूला कम्पनीहरूमा १ करोडभन्दा बढी अन्तरक्रियाहरूमार्फत परीक्षण भइसकेको यो प्रणालीलाई अब अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय भाषाहरूमा विस्तार गर्ने योजना कतार शोकेसमा सार्वजनिक गरिएको कम्पनीको भनाइ छ ।

'दोहाको यो यात्राले के प्रमाणित गरेको छ भने प्रविधिको भविष्य यो कहाँ बन्यो भन्नेमा मात्र होइन, बरु यसले आफूले सेवा दिने मानिसहरूलाई कत्तिको गहिराइमा बुझ्छ भन्नेमा निर्भर गर्दछ,' ग्लोबल स्टेजको प्रस्तुति पछि टिङ्टिङ्‌की इन्जिनियरिङ निर्देशक अन्जेलिका साहले भनिन् ।

कान्तिपुर

Link copied successfully