आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तार गर्दा छिमेकी चीन, भारत र बंगलादेशजस्ता ठूला बजारसम्म सहज पहुँच हुने बारे प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराएका थिए ।
काठमाडौँ — नेपाल भ्रमणमा रहेका कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैद्ली नेतृत्वको प्रतिनिधिमण्डल र आइएमई ग्रुपबीच नेपाल-कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ ।
उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्रुपको समग्र पोर्टफोलियो तथा लगानी विस्तारका विषयमा प्रतिनिधिमण्डललाई विस्तृत जानकारी गराएका थिए ।
अध्यक्ष ढकालले रेमिटेन्स, बैंकिङ, बिमा, सूचना प्रविधि, ऊर्जा, पर्यटन तथा हस्पिटालिटी, उद्योग, व्यापार, अटोमोटिभ, खेलकुद र शिक्षालगायतका विविध क्षेत्रहरूमा आइएमई ग्रुपले गरिरहेको लगानी विस्तार, उपलब्ध सेवा तथा सहकार्यका अवसरबारे जानकारी दिए ।
साथै, नेपालमा लगानी विस्तार गर्दा छिमेकी चीन, भारत र बंगलादेशजस्ता ठूला बजारसम्म सहज पहुँच हुने भएकाले नेपालमा उल्लेखनीय लगानी सम्भावना रहेकोतर्फ पनि उनले प्रतिनिधिमण्डलको ध्यानाकर्षण गराए । नेपाल भ्रमणमा रहेकाे प्रतिनिधिमण्डलले सरकार तथा निजी क्षेत्रका विभिन्न निकायहरूसँग दुई देशबीचको आर्थिक सम्बन्ध, बैंकिङ तथा लगानी प्रवर्द्धन, साथै द्विपक्षीय लगानी र सहकार्यका विषयमा छलफल गरिरहेको छ।
