सोल्टी वेष्टएन्ड इटहरीमा टिम भेन्चर्सको २७ प्रतिशत साझेदारी

कम्पनीले होटल गरिमा लिमिटेडमार्फत सञ्चालित सोल्टी वेष्टएन्ड इटहरीमा आफ्ना सहायक संस्थासहित २७ प्रतिशत इक्विटी हिस्सेदारी लिएको हो ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Team Ventures holds 27 percent stake in Soaltee West End Itahari

What you should know

काठमाडौँ — नेपालको अग्रणी निजी इक्विटी तथा भेन्चर क्यापिटल कम्पनी टिम भेन्चर्सले हस्पिटालिटी क्षेत्रमा पहिलो पटक लगानी गरेको छ । कम्पनीले होटल गरिमा लिमिटेडमार्फत सञ्चालित सोल्टी वेष्टएन्ड इटहरीमा आफ्ना सहायक संस्थासहित २७ प्रतिशत इक्विटी हिस्सेदारी लिएको हो ।

पूर्वी नेपालको उदाउँदो व्यावसायिक तथा ट्रान्जिट केन्द्र इटहरीमा अवस्थित सोल्टी वेष्टएन्ड इटहरी पाँचतारे स्तरको होटल हो । होटल नेपालकै पहिलो अन्तर्राष्ट्रिय होटल चेनका रूपमा परिचित सोल्टी होटल्स एन्ड रिसोर्ट्स ब्रान्ड अन्तर्गत सञ्चालनमा रहेको छ ।

टिम भेन्चर्सका अध्यक्ष केशाङ शेर्पाका अनुसार यस लगानीले होटलको आगामी विकास चरणलाई समर्थन गर्नेछ । 'यस लगानीमार्फत विस्तार योजनालाई अघि बढाउने, कर्पोरेट सुशासन सुदृढ गर्ने तथा संस्थागत क्षमतामा सुधार गर्ने हाम्रो उद्देश्य छ,' उनले बताए । उनका अनुसार टिम भेन्चर्सको बोर्ड तथा नेतृत्व तहमा नेपाल तथा क्षेत्रीय स्तरमा अन्तर्राष्ट्रिय होटल चेन सञ्चालन र बोर्ड अनुभव भएका व्यक्तिहरू संलग्न छन्, जसले यस साझेदारीलाई थप मजबुत बनाउनेछ ।

टिम भेन्चर्सका निर्देशक दोर्जे ग्याल्त्सेन लामाले पर्यटन क्षेत्रको आर्थिक महत्वलाई दृष्टिगत गर्दै आतिथ्य क्षेत्रमा अवसर खोजिदै आएको बताए । 'सोल्टी वेष्टएन्ड इटहरीमा सशक्त ब्रान्ड, अनुभवी अपरेटर र स्पष्ट वृद्धि सम्भावना देखिन्छ,' उनले भने, 'कम्पनीले विस्तार र संस्थागत सुदृढीकरणको क्रममा प्रवेश गर्दा हामी दीर्घकालीन साझेदारका रूपमा साथ दिन उत्साहित छौं ।'

त्यसैगरी टिम भेन्चर्सका निर्देशक बिजयबहादुर श्रेष्ठले इक्विटी साझेदारको भूमिका पूँजी प्रदानमै सीमित नहुने स्पष्ट पारे । 'हाम्रो ध्यान सुशासन बलियो बनाउने, संगठनात्मक क्षमता विकास गर्ने र व्यवस्थापनसँग नजिकबाट सहकार्य गर्दै दीर्घकालीन तथा व्यावसायिक वृद्धि सुनिश्चित गर्नेमा रहनेछ,' उनले भने ।

सोल्टी वेष्टएन्ड इटहरीका प्रबन्ध निर्देशक विनोद पौडेलले टिम भेन्चर्सलाई इक्विटी साझेदारका रूपमा स्वागत गर्दै यो साझेदारीले होटलको विस्तार योजनामा टेवा पुऱ्याउने विश्वास व्यक्त गरे ।

'संस्थागत पूँजी र अनुभवको संयोजनले हाम्रो दीर्घकालीन वृद्धिलाई बल पुग्ने अपेक्षा गरेका छौं,' उनले भने ।

२०१६ मा स्थापना भएको टिम भेन्चर्स नेपालका अग्रणी वैकल्पिक लगानी कम्पनीहरूमध्ये एक हो । कम्पनीले स्वच्छ ऊर्जा, कृषि, उत्पादन, प्रविधि तथा मिडियाजस्ता विभिन्न क्षेत्रमा वृद्धि-केन्द्रित व्यवसायमा लगानी गर्दै आएको छ ।

कान्तिपुर

Link copied successfully