एक लाख रुपैयाँ पुरस्कार राशीको प्रतियोगितामा देशभरका विद्यार्थीहरूलेे सहभागीता जनाउन सक्ने ।
काठमाडौँ — विद्यार्थीहरूको अगुवाइमा राष्ट्रिय स्तरको बिजनेस आइडिया पिचिङ प्रतियोगिता आयोजना हुने भएको छ । ‘प्रोडिजी प्रोजेक्ट’ को पहलमा ‘इनोभेटर्स पिच २०२६’ नामक प्रतियोगितामा देशभरका विद्यार्थीले समूह बनाएर सहभागिता जनाउन सक्नेछन् ।
कक्षा ११/१२ तथा हालै एसईई वा प्लस टु उत्तीर्ण विद्यार्थीका लागि जुनियर श्रेणी र स्नातक तह तथा सोभन्दा माथिका विद्यार्थीका लागि सिनियर श्रेणी तोकिएको छ । प्रतियोगिताको क्रममा अभिमुखीकरण, वेबिनार, प्रत्यक्ष प्रशिक्षणका कार्यक्रम पनि रहने आयोजकले जनाएका छन् । माघ १५ मा ओरियन्टेसन हुँदै फागुन १ मा ग्र्यान्डे फिनाले हुनेछ । प्रतियोगिताको पुरस्कार राशी १ लाख रुपैयाँ छ ।
प्रोडिजी प्रोजेक्टका अनुसार यो प्रतियोगिता पूर्ण व्यवसायिक योजनाभन्दा पनि आइडिया, अनुसन्धान र आत्मविश्वाससाथ प्रस्तुति दिन सिकाउने प्लाटफर्मका रूपमा डिजाइन गरिएको छ । द प्रोडिजी प्रोजेक्ट विद्यार्थीले नै सञ्चालन गर्दै आएको पहल भएको र यसले यसअघि राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता आयोजना गर्नुका साथै ‘एउटा कापी’ अभियानजस्ता सामुदायिक कार्यक्रममार्फत सरकारी विद्यालयका बालबालिकालाई सहयोग गरेको विज्ञप्तीमा उल्लेख छ ।
